समृद्धिका लागि निर्यातमूलक उत्पादन जरुरी छ : एमाले अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमूलक उत्पादन प्रवद्र्धनमा ध्यान दिनुपर्ने खाँचो औँल्याएका छन्। एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रको वर्तमान अवस्थाबारे आइतबार आयोजना गरेको अन्तरक्रियामा उनले आत्मनिर्भर अर्थतन्त्रको जगका रूपमा कृषि उत्पादनलाई बढोत्तरी गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधार, कनेक्टिभिटी, मानव संसाधन विकास, डिजिटल नेपाल, ऊर्जा, कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा ध्यान दिनुपर्ने बताए। नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा सिफारिस हुनु उपलब्धि भएको उल्लेख गर्दै उनले दिगो विकास लक्ष्य प्राप्त गर्ने सन्दर्भमा १४ सूचकहरूमा सन्तोषजनक प्रगति भएकाले नेपालले समयभित्रै दिगो विकास लक्ष्य पूरा गर्ने अवस्थामा रहेको उल्लेख गरे। तथापि दिगो विकासको लक्ष्य हासिल गर्ने अवस्थामा देशको अर्थतन्त्र नै धराशयी अवस्थामा पुग्ने हो कि भन्ने खतरा रहेको उनको भनाइ थियो।

एमाले अध्यक्ष ओलीले कोभिड महामारीको जोखिम विश्वव्यापी रूपमै करिब नियन्त्रणको बाटोमा रहेकाले अब आर्थिक गतिविधि लयमा फर्कने विश्वास व्यक्त गरे। उनले सञ्चालित आयोजना समयमै सम्पन्न गर्ने र आधुनिक पूर्वाधार, रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्छ भने।

 


३० फागुन २०७८, सोमवार ०७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु