महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन
प्रतिनिधिसभाको आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि अध्ययन गर्न समिति गठन गरेको छ ।
सो समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा सुवेदी गुरुङ, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा शिवमाया तुम्वाहाम्फे रहेका छन् । संसद्को बैठकमा आफ्ना माग पूरा गराउन विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले सो समितिका लागि आफ्नातर्फबाट नाम दिएको छ ।
प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न ११ सदस्यीय सिफारिश समिति गठन गरिएको हो ।
नेपालको संविधानको धारा १०१ को उपधारा ९३० र ९४० एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिम सो समिति गठनको प्रक्रिया अघि बढेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि यही फागुन १ गते कार्यक्षमता र आचारणसम्बन्धी प्रश्न उठाउँदै उक्त प्रस्ताव दर्ता भएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन आव २०७७–७८ पेश गरे
सांसद बानियाँ निलम्बन
आजको बैठकमा सभामुख सापकोटाले बलात्कारसम्बन्धी अभियोग मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुन्धानका क्रममा हिरासतमा पर्नुभएकाले नेकपा एमाले का सांसद मोहन बानियाँलाई यही फागुन १६ गतेदेखि संविधानबमोजिम निलम्बन गरिएको अवगत गराए । सभाको अर्को बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।
२२ फागुन २०७८, आइतवार १७:११ बजे प्रकाशित






























