कांग्रेस विग्रहको बाच्छिट्टा चुनावसम्मै
नेपाली काँग्रेस कैलालीको नेतृत्व चयनका लागि भएका अभ्यासले पार्टीभित्रको लोकतान्त्रिक चरित्रलाई बल पु¥याएको ठानिए पनि त्यस क्रममा एकअर्काे पक्षबीच देखिएका तिक्ततापूर्ण सम्बन्ध र सामाजिक सञ्जालदेखि चिया गफसम्ममा छताछुल्ल भएका एकअर्काबीचका आरोेप प्रत्यारोपले कांग्रेसको अबको यात्रा भने कठिन तुल्याउने सम्भावना बढाएको छ ।
पार्टीको आन्तरिक निर्वाचनमा एक पक्षले अर्का पक्षको उम्मेदवारलाई हराउन सकेसम्मका सबै उपाय अपनाएको देखियो । सौम्य र भद्र राजनीतिज्ञको परिचय बनाएका प्रदेशसभा सदस्य डिल्लीराज पन्तले पहिलो चरणको मतदान भइरहेका बेला सभापतिका प्रत्याशी प्रकाश बमले कुनै मतदातासमक्ष व्यक्त गरेको गुनासोको भिडियो नै पोष्ट गरेर ‘यो हदसम्मको अभिव्यक्ति नदिएको भए हुने’ भन्ने अभिव्यक्ति सार्वजनिक गरे । त्यो भिडियोमा बमले आफ्ना विरुद्ध पार्टीको सबै शक्ति र देश तथा प्रधानमन्त्री नै लागेको आक्रोश पोखिरहेको देखिन्छ । दोश्रो चरणको मतदान हुनु करिब १२ घण्टा अघि पोष्ट भएको पन्तको त्यो स्टाटसपछि कांग्रेसका हजारौं नेता कार्यकर्ताले त्यसको पक्ष र विपक्षमा प्रतिक्रिया जनाए ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट गत निर्वाचनमा उम्मेदवार बनेकी प्रधानमन्त्री तथा पार्टी सभापतिपत्नी डा. आरजु राणा देउवाले चुनाव हारेपछि कांग्रेसवृत्तमा ठूलो कम्पन पैदा भयो । कांग्रेसले आरजुको पराजयको कारण खोतल्दै त्यस अघिको चुनावमा यस क्षेत्रबाट निर्वाचित सांसद पुष्करनाथ ओझाको असहयोगका कारण आरजुले चुनाव हारेको निष्कर्ष निकाल्यो र ओझालाई अनुशासनको कारवाही गरियो । सिटिङ एमपीको मानमर्दन हुनेगरी पुर्वसल्लाह विना टिकटसमेत खोसेर शक्तिको आडमा राणा चुनाव लड्न आएको र निर्वाचनमा उचित तालमेल र समन्वय गर्न नसक्दा पराजय भएको जिकीर ओझा पक्षको थियो । तर त्यसको सुनुवाई भएन । ओझामाथि कारवाही भएको चित्त नबुझाउने कांग्रेसजनको भावनालाई यसपटकको पार्टी महाधिवेशमा सुधार गरेर लगिने अपेक्षा थियो, तर परिणति त्यस्तो देखिएन ।
जिल्ला नेतृत्वको निर्वाचनमा पक्षधरता लिएर क्षेत्रिय, जातीय, भेगीय विद्वेष फैलाउने काम दुवै पक्षबाट भयो । केही समयअघिसम्म सुसुप्त रहेको त्यो भावमा मलजलको काम दुवै पक्षबाट भएको देखिन्छ । तर केन्द्रीय नेतृत्व र प्रधानमन्त्री पत्नीको रवाफ समेत प्रयोग गरेर अमुक उम्मेदवारलाई जिताउन वा हराउन सबै प्रकारको बल उपयोग भएको काग्रेस कार्यकर्तामात्र होइन, आम धनगढीबासीले समेत थाहा पाउने गरी सतहमा देखिएको छ ।
पार्टीको अधिवेशन आयो, गयो । निकट भविष्यमा स्थानीय तहको चुनाव हुँदैछ । त्यस लगत्तै प्रदेश र संघीय संसदको निर्वाचन हुनेछ । तर कांग्रेसको यस अधिवेशनमा पोखिएको तिक्तताले ती चुनाव समेत प्रभावित हुने लक्षण देखिएको छ । काग्रेसका कयौं नेता तथा कार्यकर्ता आन्तरिक निर्वाचनको बाच्छिट्टाले स्थानीय, प्रदेश र संघीय निर्वाचनसम्म असर गर्ने बताउँछन् । एउटा उम्मेदवारको पक्षधरताका लागि केन्द्रीय सदस्यहरुको अपमानजनक खटन, उच्च ओहोदाको निकट बसेका व्यक्तिबाट जारी उर्दी, भनेको ठाउँमा मत नदिए पछि देखाइदिने धम्की र आर्थिक तथा अन्य प्रलोभनको फेहिरिस्त कांग्रेस कार्यकर्तामाझ छताछुल्ल भएका छन् ।
केन्द्रीय नेतृत्व र उनका सहयोगीको यो तहको पक्षधरता र व्यवहारबाट न जित्नेले कसैको सम्मान पाउन सक्छन्, न पराजित हुनेले नै लोकतान्त्रिक अभ्यासको परम्परा मानेर चित्त बुझाउन सक्छन् । यसको सबैभन्दा ठुलो असर स्वयम् आरजुलाई पर्नेछ । किनभने उनको जोडबलले पनि क्षेत्र नम्बर ५ को आन्तरिक नतिजामा ठुलो फेरबदल आएन । अर्थात पहिलो चरणमा बमले यस क्षेत्रबाट जति मत पाएका थिए, केन्द्रको सकृयतापछि पनि उनको यस क्षेत्रमा खासै मत घटेन । राणाको क्षेत्रका काग्रेसजनले उनलाई प्रष्ट सन्देश दिएका छन्– हामीलाई प्रजातान्त्रिक पार्टीभित्र मेडमको हुकुमी शैली मन परेको छैन ।
जिल्ला पार्टी नेतृत्वको छनौटमा पक्ष लिएर राणाले आफ्नो खुट्टामा आफैले बञ्चरो हान्ने काम गरेकी छन् । तर यसको असर उनको निर्वाचनमा मात्रै सिमित रहने छैन । वर्षाैदेखि संघीय संसदमा कांग्रेसको प्रतिनिधित्वविहीन कैलालीले यस वर्ष पनि त्यही नियाति दोहो¥याउने संकेत देखिएको छ । साथमा धनगढीको स्थानीय चुनावमा त यसको असर देखिने छ नै ।
२० फागुन २०७८, शुक्रवार १५:५८ बजे प्रकाशित































