काँग्रेस कैलालीको सभापति चयनका लागि मतदान सुरु

काँग्रेस कैलालीको सभापति चयनका लागि मतदान सुरु भएको छ । गत आइतबार सम्पन्न नेपाली काङ्ग्रेस कैलालीकोे पहिलो चरणको चुनावबाट जिल्ला सभापतिको छिनोफानो हुन नसकेपछि दोस्रो चरणको मतदान आज सुरु भएको हो ।

सभापतिका उम्मेदवार तिनै जनाले काङ्ग्रेसको विधान अनुसार मत प्राप्त गर्न नसकेपछि पहिलो चरणको चुनावले सभापतिको छिनोफानो गर्न नसकेको हो ।

१४ औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव धकेलिएको हो । नेपाली काङ्ग्रेसको विधानले सभापतिका उम्मेदवारले जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने व्यवस्था गरेको छ ।

निर्वाचनमा जम्मा दुई हजार ४८५ मत खसेको थियो । जस अनुसार सभापतिका उम्मेदवारले सो पद्मा विजयी हाँसिल गर्नका लागि कम्तीमा पनि एक हजार २४३ मत ल्याउनु पर्ने थियो । तर, तीनै जनाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेनन् ।

अन्तिम नतिजा अनुसार सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९, नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलले १९७ मत प्राप्त गरेका थिए । । सबैभन्दा बढी मत प्राप्त गर्नु भएका बम र निकटतम प्रतिद्वन्द्वी भट्टमात्रै अब दोस्रो चरणमा चुनाव लड्न पाउँछन् । सबैभन्दा कम मत प्राप्त गरेका संस्थापन इतर पक्षका रामबहादुर कलेलभने काङ्ग्रेसको विधान अनुसार सभापतिको होडबाट बाहिरिएका छन् । बम र भट्ट संस्थापन पक्षका हुन ।

 


१९ फागुन २०७८, बिहीवार १२:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु