punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोपाल हमालले गरे धनगढीको मेयरमा स्वतन्त्र चुनाव लड्ने घोषणा

Chaupati
safha napa

विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजकबाट राजीनामा दिएका गोपाल हमालले धनगढीको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् ।
सुन्दर सुदूरपश्चिमका अभियान्तासमेत रहेका हमालले बिहीबार एक कार्यक्रमका बिच धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । मेयरमा उम्मेदवारी घोषणा गरेसंगै आफुले जितेमा सरकारी सेवा सुविधा नलिने उनले बताएका छन् । ‘मेयरमा जितें भने नगरपालिकाबाट पाउने कुनै पनि सेवा सुविधा लिने छैन ।’ उनले भने ‘सरकारी गाडी पनि चढ्दैन, जनताको लागि निःस्वार्थ रुपमा काम गर्नेछु ।’

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका हमाल नेपाली कांग्रेसका नृपबहादुर वडसंग पराजित भएका थिए । ‘गत चुनावमा हारे पनि यी ४ वर्ष मैले धनगढीको विकासका लागि योजना बनाउनमा बिताएको छु ।’ घोषणा सभामा उनले भने ।

हमालले आफूले चुनाव जितेपछि भ्रष्टाचार नियन्त्रण गर्ने र उपमहानगरलाई देशकै नमूना नगर बनाउने उनले दाबी गरे । धनगढीको विकास अहिलेका लागि नभएर ५० वर्ष पछिका लागि समेत हुने गरी योजना सञ्चालन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निर्वाचनमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

उनले जनस्तरबाटै आर्थिक सहयोग अभियान पनि थालनी गरेर आफुले चुनाव लड्न चाहेको बताए । ‘मलाई भोट पनि दिनुस्, नोट पनि दिनोस् । ५ रुपियाँ, १० रुपैयाँ, सय रुपैयाँ वा हजार रुपैयाँ, जतिसक्नु हुन्छ, आशीर्वादसँगै आर्थिक सहयोग पनि गरेर आफ्नो मेयर आफूले जिताएको महसुस गर्नुस् ।’ हमालले भने ।
‘धनगढी मात्र होइन यो भूगोलभन्दा बाहिर बसेका, जसले सुदूरपश्चिम र धनगढीलाई माया गर्नुहुन्छ, उहाँहरुलाई साथमा लिएर धनगढीको दिगो विकास गर्ने र सबैलाई न्याय गर्ने पक्षमा म उभिएको छु ।’ हमालले भने ।

‘आजसम्म हाम्रा जति राम्रा भन्ने देखिएको छ । अब राम्रा जति हाम्रा भन्ने व्यवहार देखिनेछ । कसैलाई विभेद हुने छैन । काँग्रेस होस, कम्युनिष्ट होस, एमाले होस, माओवादी होस, राप्रपा होस अथवा कुनै दलमा नभएका व्यक्ति हुन् । सबैले समान न्याय पाउने छन् । मेरो जित सम्पूर्ण धनगढीवासीको जित हुनेछ ।’

हमालसँगै सोही सभामा अन्य चार जनाले वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । धनगढी उपमहानगरपालिका–४ को वडाध्यक्षमा सिद्धराज पनेरु, ५ को वडाध्यक्षमा पदमराज भट्ट, १४ को वडाध्यक्षमा यम लामिछाने मगर र १५ को वडाध्यक्षमा कमलबहादुर ढाँटले उम्मेदवारी घोषणा गरेका हुन् ।


१९ फागुन २०७८, बिहीवार १०:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु