अभिनेता पल शाहले गरे प्रहरीसमक्ष आत्मसमर्पण
अभिनेता पल शाहले आइतबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा उनले आइतबार मध्यान्न आत्मसमर्पण गरेको एसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
उनीविरुद्ध नाबालिगलाई बलात्कार गरेको जाहेरी परेको थियो । आजै बिहानमात्रै पलले आफैँ प्रहरीसमक्ष उपस्थित हुने घोषणा गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत पलले स्वास्थ्य स्थिति बिग्रेका कारण समयमै प्रहरी समक्ष उपस्थित हुन नसकेको बताएका थिए ।
उनले नेपालको कानुनलाई सम्मान गर्दै प्रहरी समक्ष आफैँ उपस्थित हुने बताएका थिए । गायिका रहेकी आफ्नी नाबालिग छोरीलाई बनावटी प्रेमको बहानामा बलात्कार गरेको भन्दै उनका बुवाले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए ।
१५ फागुन २०७८, आइतवार १२:३९ बजे प्रकाशित












