प्रधानमन्त्री देउवाले भने -भोलिको संसद बैठकमा एमसीसी टेबुल हुन्छ
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) टेबुल हुने बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सदनमा पेस गर्ने सहमति सत्तारुढ दलहरूबीच लगभग भइसकेको जानकारी गराएका हुन् ।
यसैबीच, कांग्रेस संसदीय दलको बैठकले एमसीसी परियोजना सदनबाट पारित गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने निर्णय गरेको छ । बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग पनि पारित गर्न आह्वान गर्ने निर्णय गरेको छ ।
यसअघि प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरेर संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक डाक्न आग्रह गरेका थिए ।
३ फागुन २०७८, मंगलवार १५:२५ बजे प्रकाशित































