बैतडीमा योजना आयोगले गर्‍यो अन्तरक्रिया

राष्ट्रिय योजना आयोगले बैतडीका सरकारी कार्यलय प्रमुख, सुरक्षा निकाय र जनप्रतिनिधि लगायतसँग अन्तरक्रिया गरेको छ।पाटनमा भएको अन्तरक्रियामा केन्द्र सरकारबाट आउने बजेटको कार्यान्वयन, योजना निर्माणबारे छलफल गरिएको छ।

यसका साथै विशेष र समपूरक बजेट कार्यान्वयनबारे र आगामी दिनमा कस्ता योजना ल्याउनु उपयुक्त हुन्छ भन्नेमा पनि छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए।

छलफलमा विषेश गरेर पञ्चेश्वर परियोजना, पश्चिमसेती अगाडि बढाउनुपर्ने, पाटन–पञ्चेश्वर सडक, मध्यपहाडी लोकमार्गको स्तरोन्नति, महाकाली करिडोर तीव्र गतिमा निर्माण गर्नुपर्ने, बिओपी भवन र प्रहरी चौकी निर्माण गर्न भएको समस्या तथा गत असोज पहिलो साताको अविरल वर्षाले गरेको क्षति, महाकालीमा झोलुंगे पुल निर्माण, ठेकेदारका कारण योजना समयमै निर्माण नहुनेलगायत समस्याबारे पनि छलफल भएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले योजना कार्यान्वयन कसरी भइरहेको छ भनेर अन्तरक्रिया गरिएको बताउँदै बैतडीको आवश्यकताअनुसार योजना राखिने बताए।उनले भने, ‘सरकारको बजेट सबैका लागि समान हो, सबैको पहुँच पुग्ने गरि र सबै पक्षको सहभागितामा योजना लागू गर्नुपर्छ।’

अन्तरक्रियामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, नेपाली कांग्रेस बैतडीका उपसभापति वीरबहादुर विष्ट, जनप्रतिनिधि, नेता कार्यकर्तालगायत उपस्थित थिए।


१५ पुस २०७८, बिहीवार २१:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु