एमालेको नाराबाजीबीच बस्यो प्रतिनिधिसभाको बैठक, दुई अध्यादेश स्वीकृत

प्रमुख प्रतिपक्ष नेकपा एमालेको नाराबाजीबीच सभामुख आज प्रतिनिधिसभाको बैठक बसेको छ ।
आजको बैठक सुरु भएलगत्तै एमालेले रोस्टम अगाडि आएर नाराबाजी गरेको थियो । यद्यपि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अगाडि बढाएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच प्रतिनिधिसभाको बैठकमा दुई अध्यादेश स्वीकृत भएका छन् ।
एमालेले बैठक अवरूद्ध कायमै राखे पनि आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दुई वटा अध्यादेश पेस गरेकामा त्यसलाई बहुमतले स्वीकृत गरेको हो ।
यौनहिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई बहुमतले स्वीकृति भएको हो ।
एमालेले अवरूद्ध गरेको बैठकमा नेमकिपाका सांसद् प्रेम सुवालले विरोध जनाएका थिए । एमाले र नेमकिपाको विरोधकाबीच दुबै अध्यादेश बहुमतले स्वीकृत भएको हो ।
नेकपा (एमाले) ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गर्दै आएको छ । संसदको अर्को बैठक पुष ७ (बुधबार)गते सम्मका लागि स्थगित भएको छ ।
६ पुस २०७८, मंगलवार १४:१८ बजे प्रकाशित