कैलालीमा पछिल्लो चार महिनामा एचआईभी संक्रमित बढे
कैलालीमा पछिल्लो चार महिनाको तथ्यांक हेर्दा एचआईभी संक्रमितको संख्यामा वृद्धि भएको देखिएको छ । गत विगतको तुलनामा यस वर्षको चार महिनाको अवधिमा जिल्लामा एचआईभी संक्रमितको संख्यामा वृद्धि भएको पाइएको हो ।
स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्कअनुसार कैलालीमा पछिल्लो चार महिनामा मात्रै ५३ जना एचआईभी संक्रमित थपिएका छन् । तथ्याङ्क अनुसार कैलालीमा २०७६र०७७ मा १५२ जना एचआईभी संक्रमित फेला परेकोमा पछि वर्ष २०७७र०७८ मा त्यो संख्या घटेर ११२ जनामा सीमित भएको थियो ।
तर चालु आर्थिक वर्षको चार महिनामा मात्रै ५३ जनामा एचआईभी संक्रमित फेला परेको स्वास्थ्य कार्यालय कैलालीका निर्मित कार्यालय प्रमुख लालबहादुर धामीले जानकारी दिए । कोरोना भाइरस संक्रमण सुरु भएपछि समुदायमै गएर चेकजाँच गर्दा संक्रमित संख्या बढेको उनले बताए ।
‘कैलालीमा समग्रमा एचआईभी संक्रमितको संख्या घटेको भएपनि पहिलै संक्रमण भएर पत्ता नलागेकाहरु र अहिले भारतबाट आउनेहरुलाई समुदायमै गएर एचआईभी टेस्ट गरिरहेका छौं,’ उनले भने, ‘समुदायमा गएर टेस्ट गर्दा लुकेका संक्रमितहरु पत्ता लाग्दा त्यो तथ्याङक बढेको देखिएको हो । वास्तवमा तुलनात्मक रुपमा संक्रमण बढेको छैन् ।’
गरिबी, जनचेतना अभावलगायतका कारण मानिसहरु एचआईभी संक्रमणको जोखिममा परिरहेको निर्मित प्रमुख धामीको भनाई छ । उनले संक्रमण थप घटाउन जनचेतनामुलक कार्यक्रमहरु पनि गर्न आवश्यक रहेको उनले बताए ।
२० वर्षदेखि ४९ वर्ष उमेर समूहका मानिसमा बढी एचआईभी संक्रमण देखिएको उनको भनाइ छ ।उनका अनुसार हाल कैलालीमा एक हजार ६०९ जना संक्रमित छन् । संक्रमितहरुले एआरटी औषधी सेवन गरिरहेका छन् ।
१५ मंसिर २०७८, बुधवार १८:२९ बजे प्रकाशित































