बेमौसमी वर्षाले सुदूरपश्चिममा ६ अर्ब बराबरको धान नष्ट
धान काटेर भित्र्याउने समयमा परेको अविरल वर्षासंगैको बाढीले सुदूरपश्चिम प्रदेशमा धानबालीमा ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म परेको बर्षासंगैको बाढीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहित ९ जिल्लामा लगाइएको धानमा क्षति पुगेको हो । काट्न बाँकी रहेको धान डुबेर नष्ट भयो भने काटिसकेको धान केही बाढीले बगाएर नष्ट भएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ ।
निर्देशनालयका प्रमुख यज्ञराज जोशीले ५ अर्ब ९५ करोड सात ७ लाख ४ हजार ८ सय ८० रुपैयाँ बराबरको धान बाढीले नष्ट गरेको बताए । उनका अनुसार सबैभन्दा बढी कैलालीमा ४ अर्ब ६३ करोड ३४ लाख ७० हजार रुपैयाँ बराबरको धान नष्ट भएको छ । त्यसपछि कञ्चनपुरमा एक अर्ब १६ करोड १५ लाख रुपैयाँ बराबरको धानमा क्षति पुगेको प्रमुख जोशीले जनाकारी दिए ।
त्यसैगरि बैतडीमा ७ करोड ४० लाख रुपैयाँ, दार्चुलामा ४ करोड ३ लाख, बाजुरामा १ करोड ४५ लाख ४० हजार, अछाममा १ करोड २४ लाख ८४ हजार ८ सय ८० रुपैयाँ, बझाङमा ७६ लाख ५० हजार, डोटीमा ५१ लाख ६० हजार रुपैयाँ बराबरको धान नष्ट भएको छ । सबैभन्दा कम डडेल्धुरामा १६ लाख रुपैयाँ बराबरको धान नष्ट भएको छ ।
प्रदेशभर ५७ हजार ४२३ हेक्टर क्षेत्रफलमा लगाइएको धान पूर्णरुपमा नष्ट भएको छ भने २६ हजार ५ सय २ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा आंशिक क्षति पुगेको निर्देशनालयका प्रमुख जोशीले बताए । प्रदेशभर जम्मा ३ लाख ५५ हजार ३ सय ७९ मेट्रिकटन धान नष्ट भएको उनले बताए । उनले भित्र्याइसकेको धानको विवरण भने सबै जिल्लाको प्राप्त भइनसकेको बताए ।
निर्देशनालयका अनुसार सुदूरपश्चिममा यस वर्ष जम्मा १ लाख ९३ हजार ४३९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । निर्देशनालयले ७५ प्रतिशत भन्दा बढीको क्षतिलाई पूर्ण र ७५ प्रतिशत भन्दा कम क्षतिलाई आंशिक क्षति मानेर क्षति विवरण निकालेको हो ।
सबैभन्दा बढी क्षति भएको कैलालीमा ३९ हजार ३ सय ५६ हेक्टर क्षेत्रफल अर्थात ५०.४४ प्रतिशत क्षेत्रफलमा लगाइएको धान पूर्ण रुपमा नष्ट भएको प्रमुख जोशीले बताए । उनले २४ हजार २ सय ५४ हेक्टर अर्थात ३१.०८ प्रतिशत क्षेत्रफलमा लगाइएको धानमा आंशिक क्षति पुगेको बताए । १४ हजार १ सय १५ हेक्टर क्षेत्रफल अर्थात १८.४७ हेक्टर जमिनमा लगाइएको धान मात्रै भित्र्याइसकिएको थियो । जिल्लामा ७८ हजार २५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।
यस्तै, कञ्चनपुरमा ४८ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलमा लगाइएको धानमध्ये १५ हजार ८९.०ं७ हेक्टर क्षेत्रफलमा लगाइएको धान पूर्णरुपमा नष्ट भएको छ । १ हजार २ सय १३.५१ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा आंशिक क्षति पुगेको छ । निमित्त प्रमुख जोशीका अनुसार कञ्चनपुरमा त्यसबेला ३२ हजार १ सय ९३ हेक्टर क्षेत्रफलमा लगाइएको धान भने भित्र्याइसकिएको थियो ।
यसैगरी वर्षाले बैतडीमा ४ हजार ६ सय मेट्रिकटन, दार्चुलामा २ हजार १५ मेट्रिकटन, बाजुरामा ७ सय २७ मेट्रिकटन धान नष्ट भएको छ । यस्तै, अछाममा ६ सय २४ मेट्रिकटन्, बझाङमा ५ सय १० मेट्रिकटन, डोटीमा २ सय ५८ र डडेल्धुरामा ८० हेट्रिकटन धान नष्ट भएको तथ्यांक छ ।
निर्देशनालयका प्रमुख जोशीले बेमौसमी वर्षाले मुख्य रुपमा धानबालीलाई नै क्षति पुर्याएको बताए ।
उनले आलु, केरा, तरकारी, तोरीलगायतका बालीमा पनि क्षति पुगेको र त्यसको पूर्ण विवरण संकलन हुनेक्रममा रहेको बताए । अन्य बालीहरुको विस्तृत विवरण आउन अझै केही समय लाग्ने उनले बताए ।
३० कात्तिक २०७८, मंगलवार १९:२७ बजे प्रकाशित






























