शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न समिति गठन
शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न समिति गठन भएको छ । हिजो बसेको मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न डाक्टर विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई २ महिनाभित्र उपयुक्त जग्गा खोज्न कार्य अवधि तोकिएको सचिव रामप्रसाद थपलियाले जानकारी दिए । जग्गा व्यवस्थापन हुने बित्तिकै अस्पताल निर्माणको काम अघि बढ्ने सचिव थपलियाले बताए ।
मुख्यगरी काठमाण्डौ, चितवन लगायतका सहरी क्षेत्रमा जग्गा खोज्ने कामलाई प्राथमिकता दिइनेछ । शिक्षक अस्पताल बनेपछि देशभरका झण्डै ३ लाख बढी शिक्षकहरु लाभान्वित हुनेछन् । अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकाले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गरे ।
यस्तै हिजोको मन्त्रिस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कर्णाली प्रदेश कार्यालयका लागि जग्गा व्यवस्थापन गरेको छ । कार्यालयको भवन निर्माणका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ कालीका प्रावि र नेपाल राष्ट्रिय मावि चिसापानीमा मर्ज भइ खाली भएको जग्गा व्यवस्थापन गरिएको हो ।
२३ कात्तिक २०७८, मंगलवार ०९:१० बजे प्रकाशित






























