दोदा नदीको बाढीले धान बगाउँदा लाखौंको क्षति
लगातारको वर्षाका कारण आएको बाढीले लालझाडी गाउँपालिका क्षेत्रका किसानले काटेको दोदा नदीले धान बगाएको छ।नन्दगाउँ, कस्वा, विनावारी, नौरंगा, विचवालगायत क्षेत्रका किसानले काटेर खेतमा सुकाएका धान बगाउँदा करोडौं रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले बताए।
‘केही ठाउमा दोदा नदीको पानी पसेपछि बग्यो’ उनले भने, ‘केही ठाउँमा वर्षाको पानीले बगाएर धान नदीमा पुर्यायो। पुरै खेत र बस्ती जलमग्न छन। काटेको सबै धान बगेको छ।’
नदीले धान बगाएको टुलुटुलु हेर्नुको विकल्प नभएको नेपाली कांग्रेसका लाझाडी गाउँ कार्यसमितिका सभापति श्रीकृष्ण रानाले बताए। ‘निकै ठूलो नोक्सानी भएको छ‚’ उनले भने‚ ‘किसानले भोक भोकै बस्नु पर्ने अवस्था आएको छ। सबै सत्यनाश भयो।’
यसअघि नदी गाउँ पस्दा डुवान भए पनि खेतमा लगाएको बाली बगाएर नलगेको उनले बताए।स्थानीय लक्ष्मण रानाले दश कठ्ठा जग्गामा लगाएको धानबाली पुरै नदीले बगाएको बताए। काटेर सुकाउन राखेको धान संगै मुठा बाँधेर राखेको धान समेत बगेको उनले बताए। अब कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको उनले बताए।
३ कात्तिक २०७८, बुधवार ०८:४८ बजे प्रकाशित












