भित्र्याउन लागिएको धानबालीमा क्षति
कैलालीमा भित्र्याउन लागिएको धानबालीलाई आइतबार राति परेको पानीले असर पुगेको छ । वर्षाका कारण धानबालीमा क्षति पुगेपछि कैलालीका किसान चिन्तित भएका छन् ।पानी परेपछि काटेर खेतमै थुपारिएको एक विघामा लगाएको धान नोक्सान भएको कैलालीको कैलारी गाँउपालिका –३ मुडाका किसान नरेन्द्रप्रसाद चौधरीले बताए । उनले खेतमा लगाएको तोरी पनि माटोमा जम्न नपाउँदै सखाप हुन अवस्था आएको दुखेसो पोखे ।
कैलारीकै हंशु चौधरीको पनि एक विघामा काटेर थुपारेको धान पानीले पुरै डुबेको छ । ‘हिजो साँझदेखि परेको पानीले काटेर खेतमै थुपारेको धान पुरै डुबेको छ, उनले भने, ‘आधै धान काम नलाग्ने भइसक्यो ।’कैलाली धान खेतीका लागि पकेट क्षेत्र मानिन्छ । तर यस पटकको पानीले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौँ हेक्टर क्षेत्रफलको धानबालीलाई नोक्सानी पु¥याएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज शर्माले बताए ।
कैलालीमा करिब ७० हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । बेमौसमी पानीका कारण भएको नोक्सानीले यो वर्ष ५ देखि १० प्रतिशत धान उत्पादनमा कमि आउने प्रमुख शर्माले बताए ।अघिल्लो वर्ष २ लाख ८० हजार मेट्रिकटन धान उत्पादन भएको बताउँदै प्रमुख शर्माले भने यो वर्ष समय–समयमा पानी परेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको भएपनि अहिले उक्त परिणाममा धान भित्र्याउन नसकिने अवस्था आएको बताए ।
उत्पादन भएको धानबालीसमेत राम्रो मूल्य नपाउन सक्ने भएकाले किसानहरू प्रत्यक्ष मारमा पर्ने केन्द्रका प्रमुख शर्माले बताए । ‘धान भिजेकाका कारण कालो हुने, बिउका लागि उपयुक्त नहुने हुन्छ,’ उनले भने, ‘व्यापारीले पनि यस्तो धानको राम्रो मूल्य दिँदैनन् । यहाँका करिब ७० देखि ८० प्रतिशत किसानले धान काटिसकेका छन् ।
१ कात्तिक २०७८, सोमवार १५:३२ बजे प्रकाशित













