नेकपा (एस)ले लगायो मन्त्रीको टुङ्गो, को-को बन्दै छन् ?
नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो भागमा परेका चार मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीको नाम टुंगो लगाएको छ। उक्त पार्टीका शीर्ष नेताहरूको बैठकले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको हो।
पार्टी स्थायी कमिटी बैठकले सरकारमा जाने नेताहरूको नाम टुंगो लगाउने जिम्मवारी शीर्ष नेताहरूलाई दिएको थियो। सोही अनुसार अध्यक्ष माधवकुमार नेपालले महासचिव वेदुराम भुसाललगायतका नेताहरूसँग छलफल गरी नाम टुंगो लगाएका हुन्।
पार्टीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ। उनलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइने निर्णय भएको नेकपा एसका एक नेताले बताए। ती नेताका अनुसार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी रामकुमारी झाँक्रीले पाउने भएकी छन्। यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले बन्दैछन्।
श्रम मन्त्रालयमा किसान श्रेष्ठलाई र राज्यमन्त्रीमा भवानी खापुङलाई पठाउने निर्णय भएको ती नेताले जानकारी दिए। तर यसबारे औपचारिक निर्णय भने शुक्रबार बस्ने स्थायी कमिटी बैठकले गर्ने बताइएको छ।
एमालेबाट विभाजित भएर माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा एस शुक्रबार औपचारिक रूपमा सत्तामा जान लागेको हो।
सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले शुक्रबार शेरबहादुर देउवा नेतृत्वको सरकारलाई पूर्णता दिने निर्णय गरेका छन्। सोहीअनुसार देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्।
२२ असोज २०७८, शुक्रवार ०५:३५ बजे प्रकाशित































