punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङका चार स्थानमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय बझाङले दशैं तिहारमा यात्रुको सजिलोको लागि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको छ । चाडपर्वका बेला यात्रुहरूलाई हैरानी हुनसक्ने भन्दै जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताए ।

उहाँले भन्नुभयो, “हामीले अन्य जिल्लाको प्रवेशद्वार वित्थडचिर गाउँपालिकाको प्रहरी चौकी वित्थडचिर, अस्थायी प्रहरी पोष्ट बागथला, अस्थायी प्रहरी पोष्ट झोता र जिल्ला ट्राफिक प्रहरी चेक पोष्ट सिमखेत गरी चार स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएका छौँ । कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्न सक्नेछन् ।”

चाडपर्वका बेला सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कामहरू हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको समेत उनले बताए ।

“हामीले सबै यातायात व्यवसायीहरूलाई आफ्नो सवारी साधनमा भाडा दर राख्न पनि भनेका छौँ । सहायता कक्षमा पनि भाडा दर राखेका छौँ ।” उनले भने , “कसैले तोकेको भन्दा बढी भाडा लिएको पाइएमा कारबाही गर्छौँ ।”

यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी र प्रहरी खटाइएको छ । दशैंका लागि भनेर भारतबाट रोजगारी गरेर फर्केका नागरिकहरू समस्यामा पर्ने भएकाले उनीहरूलाई लक्षित गरेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

चाडपर्वको बेलामा ट्राफिक प्रहरीको उपस्थितिले ट्राफिक नियमको पालना हुने विश्वास गरिएको छ । ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना हुने भएकाले सवारी दुर्घटना न्यूनीकरण गर्नु अर्को उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका असई राजेन्द्र विष्टले बताए ।


१६ असोज २०७८, शनिवार १३:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु