दार्चुला तुइन घटना : सीमा र हेलिकोप्टर प्रकरणमा भारतले अझै दिएन जवाफ
दार्चुलाको तुइन घटनाका विषयमा नेपालले दुई साताअघि गरेको पत्राचारको भारतले अझै जवाफ दिएको छैन । महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को अमानवीय व्यवहारका कारण नेपाली युवा जयसिंह धामी बेपत्ता भएका थिए ।
दार्चुलाको व्यास गाउँपालिका–२ का धामी बेपत्ता भएपछि भारत सरकारलाई परराष्ट्र मन्त्रालयले दुई साताअघि ‘कूटनीतिक नोट’ पठाएको थियो । तर बुधबारसम्म भारतका तर्फबाट त्यसबारे कुनै जानकारी नआएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । सरकारले भारतलाई पठाएको कूटनीतिक नोटमा जयसिंह धामी बेपत्ता हुनुमा एसएसबीको संलग्नता पुष्टि भएको किटान गरिएको थियो ।
गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदन उद्धृत गर्दै परराष्ट्रले एसएसबीको ‘उपस्थिति र संलग्नतामा’ तुइन घटना भएको जानकारी भारतीय पक्षलाई दिएको थियो । घटनाबारे अनुसन्धान गर्न नेपाल सरकार गृह मन्त्रालयद्वारा गठित समितिले प्रत्यक्षदर्शीको भनाइ, परिस्थिति र तथ्यहरूका आधारमा उनी बेपत्ता भएको विषयमा बुझाएको प्रतिवेदनमा उक्त घटना सशस्त्र सीमा बल (एसएसबी) को उपस्थिति र संलग्नतामा भएको परराष्ट्र मन्त्रालय जानकारी गराउँदछ,’ नेपालले पठाएको कूटनीतिक नोटमा उल्लेख छ ।
नोटमा ‘घटनामा एसएसबीको संलग्नताबारे विस्तृत अनुसन्धान गरी घटनामा संलग्नलाई आवश्यक कानुनी कारबाही गर्न तथा पीडितको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन’ आग्रह गरिएको छ । भारतीय पक्षबाट अहिलेसम्म घटनाबारे अनुसन्धान भए नभएको जानकारी दिइएको छैन । काठमाडौंस्थित भारतीय दूतावासले पनि यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।
पाँच वर्षमा ५ कूटनीतिक नोट, भारतले जवाफै दिएन(नयाँ दिल्लीमा भदौ १७ मा आयोजित भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले दार्चुलाको तुइन घटनाबारे नेपाल सरकारले कुनै जानकारी नगराएकाले त्यसबारे भारतले केही नबोल्ने बताएका थिए ।
उनले यो विषयमा मिडियाबाट केही सुनेको तर औपचारिक रूपमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएका थिए। तर नेपाल सरकारले छानबिन समितिको प्रतिवेदनको निचोडसहित लेखेको कूटनीतिक पत्रबारे भने भारतले बेवास्ता गरेको हो । परराष्ट्रविद् दिनेश भट्टराईले कूटनीतिक नोट पठाएपछि त्यसको जवाफ ढिलोचाँडो आउने सक्ने बताए ।
यस्तै, महाकाली नदी वारि नेपालको दार्चुलाका पाँच स्थानीय तह हुँदै भारतीय हेलिकोप्टर निरन्तर उडाइएको विषयमा पनि परराष्ट्रले भारतलाई कूटनीतिक नोट पठाएको थियो । जसको जवाफ पनि अझै दिइएको छैन । पूर्वराजदूत निरञ्जन थापा अमानवीय घटनाका विषयमा भारतबाट जवाफ नआएपछि कूटनीतिक पहललाई थप अघि बढाउनुपर्ने बताउछन् ।
‘कूटनीतिक पहलको विकल्प पनि कूटनीतिक पहल नै हो । तर पहल गर्दा अब अर्को चरणमा जानुपर्छ,’ उनले भने, लगातारको कूटनीतिक पहलले नभए संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय कानुनलगायतको सहयोग लिने बाटा पनि खुला छन् ।
यसअघि भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेको विषयमा २०७७ वैशाख अन्तिम साता कूटनीतिक नोट पठाएको थियो । उक्त नोटको पनि भारतले हालसम्म जवाफ दिएको छैन । दार्चुलाको तुइन र हेलिकोप्टरको अनधिकृत उडानबारे परराष्ट्र मन्त्रालयले भारत सरकारलाई पठाएको ‘कूटनीतिक नोट’ को फलोअपको जिम्मेवारी नयाँदिल्लीस्थत नेपाली दूतावासको हो। दूतावासलाई भने परराष्ट्रले औपचारिक जानकारी नै पठाएको छैन ।
मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारतलाई कूटनीतिक नोट पठाएको थियो । ‘परराष्ट्रले कूटनीतिक नोट पठाएको पनि हामीले मिडियाबाटै सुनेका हौं,’ दूतावास स्रोतले भन्यो, ‘हामीलाई औपचारिक केही जानकारी र निर्देशन पठाइएको छैन ।’
त्यस्ता पत्राचार गर्दा सम्बन्धित देशस्थित आफ्नो दूतावासलाई जानकारी दिने कूटनीतिमा चलन नै हो । तर फलोअपको जिम्मेवारी हुने जानकारी केही नपठाउनुले दूतावासका अधिकारीहरू निराश छन् ।
६ असोज २०७८, बुधवार २०:१७ बजे प्रकाशित













