कालो धान फलाउँदै गाउँपालिका अध्यक्ष साउँद, पर्यटनसंग जोड्ने योजना

अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउँद दुर्लभ कालो धान खेतीमा सक्रिय भएका छन् । कालो धान ‘जी–६० ब्ल्याक राइस’का विषयमा सामान्य सुनेका उनले पाँच वर्षदेखि कालो धानको खेती गर्दै आएका हुन् । कालो धानको बारेमा बुझिसकेपछि उनले पनि यो धानको खेती गर्ने सोच बनाएका थिए ।

कालो धानबारे सुनेकै आधारमा खेती गर्ने सोच बनाएका उनले सुरुमा एक रोपनीमा मात्रै धान लगाउने सोच बनाए । दुई वर्षसम्म एक रोपनीमै धान रोपे उनले । दुई वर्षको अनुभवले उनलाई कालो धानबाट केही फाइदा हुने र राम्रोसंग फलाउन सकिने मेसो पाए ।

रहर गरेर सुरुमा एक रोपनीबाट सुरु गरेको कालो धानको खेती उनले दुई वर्षपछि एकैपटक २० रोपनीमा विस्तार गरे । ‘कालो धानमा केही फाइदा र विशेषता देखेँ र यसको खेती विस्तार गरेँ’ उनी भन्छन् । उनले अहिले कालो धानलाई व्यवसायीक रुपमै अगाडि बढाएका छन् ।

चिसो ठाउँमा फल्ने र असिना पानीले पनि कुनै असर नपर्ने भएकाले आफू कालो धानतर्फ आकर्षित भएको उनी बताउँछन् । कालो धानको चामलको माग बढ्न थालेपछि तीन वर्ष अघिदेखि व्यवसायिक रुपमा कालो धान लगाउनु सुरु गरेको अध्यक्ष साउँदले बताए । तेस्रो वर्षमा उनले २० क्वीन्टल धान उत्पादन गरे ।

बिडम्बना गत वर्ष रामारोशनमा आएको बाढीका कारण करिब १० रोपनी जग्गा बाढीले बगाएको छ । अहिले उनले बाँकी रहको १० रोपनी जग्गामा कालो धान लगाएका छन् । कालो धान राम्रो फल्ने मात्रै नभई आर्थिक दृष्टिकोणले राम्रो रहको अध्यक्ष साउँद बताउँछन् । ‘बेर्ना सारेको ९० दिनभित्र यो धान पाकिसक्छ,’ उनी भन्छन्, ‘स्थानीय तरिकाले खेती गर्दा पनि अन्य धान सरहनै फल्छ।’ स्थानीय स्तरमा कालो धानलाई प्रतिकिलो पाँच सयदेखि आठ सय रुपैयाँँसम्म विक्री हुने गरेको उनले बताए ।

कालो धानलाई व्यवसायिक रुपमै अघि बढाएपछि सिजनमा च्ँर लाख भन्दा बढी आम्दानी भएको गाउँपालिका अध्यक्ष साउदको भनाई रहेको छ । खेतीयोग्य जमिनमा जहाँ पनि फल्ने कालो धानलाई असिना पानीले समेत कुनै असर नगर्ने र पाकिसकेपछि थ्रेसर मेसिनबाट मात्रै झार्न सकिने अध्यक्ष साउदको भनाई छ । ‘रामारोशन चिसो ठाउँ भएकाले यहाँ त्यसै पनि यो धान राम्रो फल्छ,’ उनी भन्छन्, ‘असिना पानीले पनि केही गर्दैन । फलेको उत्पादन जोगाउन गाह्रो हुँदैन ।’

कालो धानको चामलको माग शहरी क्षेत्रका होटलमा बढ्दो छ । कालो धानको माग स्वदेशमा मात्रै नभई विदेशमा पनि उत्तिकै रहेको अध्यक्ष साउँदको भनाई छ ।
‘आफूले फलाएको कालो धान भारतदेखि अमेरिकासमेत निर्यात भएको छ,’ उनी भन्छन्, ‘त्यहाँ रहेका नेपालीहरुले विदेशीहरुलाई धानको बारेमा भनिदिँदा उनीहरुले मगाउने गर्छन् ।’

बजारको माग बमोजिम कालो धान अझै उत्पादन गर्न नसकेको उनको भनाई छ ।
‘सबैभन्दा बढी भारतका विभिन्न होटलहरुमा कालो धानको माग बढ्दो छ,’ उनले भने, ‘स्वेदेशमा भने सबै मानिसहरुले किनेर खान सक्दैनन्, धेरैलाई यसबारे थाहा पनि छैन । ठूला होटल, नेपाली सेना, प्रहरी प्रशासनबाट कालो धानको माग हुने गरेको छ ।’

पर्यटनसंग जोड्ने योजना
रामरोशन क्षेत्रमा घुम्न आउने आन्तरिक तथा वाह्रय पर्यटहरुले पनि कालो धान आकर्षणको रुपमा रहेको छ । यहाँसम्म पुग्ने व्यक्तिहरले कालो धान किन्ने गरेका छन् । कालो धानलाई पर्यटन क्षेत्रसँग जोड्ने योजना अध्यक्ष साउँदको छ ।

कालो धान नेपालको जमिनमा प्रवेश गरेको धेरै नभएकाले यसको बारेमा जानकारी लिन आन्तरिक तथा वाह्रय पर्यटक रामारोशन आउने गरेको उनी बताउँछन् । गाउँपालिकामा अन्य कृषकहरुले पनि व्यवासायिक रुपमा कालो कालो धानको खेती सुरुवात गरेमा यसको बारेमा जानकारी लिन पर्यटक थप बढ्ने उनी अध्यक्ष साउदको बुझाई छ ।

‘पर्यटकहरुलाई आकर्षित गर्नको लागि कालो धान एक माध्यम बनेको छ,’ उनले भने, ‘गाउँपालिका अन्य केही कृषकहरुले पनि आफूलाई खानको लागि कालो धानको सुरुवात गरेका छन् । अब अन्य कृषकलाई पनि कालो धानको बीउ वितरण गरी गाउँपालिकामा व्यावसायिक रूपमा यसको उत्पादन गर्ने योजना छ ।’

स्वास्थ्यका लागि लाभदायक

कालो धान आर्थिक दृष्टिकोणले मात्रै हैन स्वास्थ्यका दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । बढी प्रोटिन प्राप्त हुने कालो धानको चामल स्वास्थ्यका लागि पनि निकै उपयोगी रहेको यस सम्बन्धी जानकार बताउँछन् ।

कालो धान उच्च पोषणयुक्त धान हो । एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाएमा रक्तअल्पता, मधुमेह, क्यान्सर, हृदयाघात, उच्चरक्तचाप, मुटु रोग, अलजाइमर्स जलनवाट बच्न सकिने डा. विकास गौचनको भनाई रहेको छ ।

पकाउनु अघि दुई घन्टा भिजाएर मात्रै पकाउनु पर्ने र भिजाएको पानीलाई सर्वतको रुपमा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुने बताइएको छ । गर्भवती महिला र शिशुलाई स्तनपान गराउने आमाहरूको लागि अत्यन्त लाभदायक हुने डा.गौचनको भनाई रहेको छ । यो चामल स्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण भएका कारण यसको थप खोज तथा अनुसन्धान हुन आवश्यक रहेको डा. गौचन बताउँछन् ।


१ भदौ २०७८, मंगलवार १३:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु