डमरुसहित राजमार्गसंगैको जंगलमा घुम्दै बाघ
स्थानीय र यात्रुलाई सुरक्षित रहन आग्रह
कैलालीको मसुरिया क्षेत्रमा डमरुसहित पोथी बाघ देखिएको छ । भाले बाघबाट डमरु सुरक्षित गर्दै हुर्काउन पोथी बाघ राजमार्गसंगैको जंगलमा आएको हो ।
भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न बसन्ता जैविक मार्गहुँदै सहायक मार्ग मसुरिया आइपुगेको सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले बताए । उनका अनुसार जंगलमा दुई डमरुसहित पोथी बाघ मसुरिया–राजीपुर क्षेत्रमा देखिन थालेको हो । यो जंगल महेन्द्र राजमार्गसंगै जोडिएको छ ।
‘भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिन्छ,’ उनले भने, ‘डमरु सुरक्षित गर्न पोथी बाघ बसन्ता क्षेत्रबाट मसुरिया क्षेत्रका सामुदायिक वनमा आएको हुनसक्छ ।’ बाघ यहाँ कहिले पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फका सामुदायिक वन र कहिले दक्षिणतर्फका सामुदायिक वनमा सिकार खोज्दै डमरु हुर्काइरहेको अध्यक्ष सापकोटाले बताए ।
डमरुसहित बाघ बस्ती नजिक आएको हुँदा सामुदायिक वनहरुले सजगता अपनाउन आग्रह गरको छ । सामुदायिक वन समन्वय समितिले महेन्द्र राजमार्गको तल्लो तथा माथिल्लो डमरुसहित बाघ देखा परेको हुँदा त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दा र राजमार्ग हुँदै यात्रा गर्नेहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
‘बढैपुर–राजीपुर वन क्षेत्रमा डमरुसहितको पाटेबाघ केही समयदेखि महेन्द्र राजमार्गको माथिल्लो तथा तल्लो खण्डमा देखा परिरहेको हुनाले यस क्षेत्रमा बसोबास गर्ने समुदाय तथा सो क्षेत्र हुँदै यात्रा गर्ने यात्रुहरुलाई सावधानीपूर्वक यात्रा गर्न अनुरोध गर्दछौं ।’ समन्वय समितिले सर्वसाधारणका लागि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अहिले बाघ सो क्षेत्रका शिवशक्ति सामुदायिक वन, कालिका सामुदायिक वन, गौरीगणेश सामुदायिक वन, लालीगुरास सामुदायिक वन, हरियाली वसन्त सामुदायिक वन क्षेत्रमा डुलिरहेको सापकोटाले बताए । उनका अनुसार बाघ स्थान फेरेर जंगलमा डमरु डुलाइरहेको छ ।
पोथी बाघ डमरु हुर्कारहेको हुँदा अन्य बेला भन्दा बढी भोको हुने हुँदा अगाडि भेटिएको जुनसुकै जीवको पनि सिकार गर्ने हुँदा मानिसहरुले पनि सजग हुनुपर्ने सापकोटाको सुझाव छ ।

२३ साउन २०७८, शनिवार ०९:२१ बजे प्रकाशित












