जहाँ मान्छेनै हिँड्दैनन् त्यहाँ पक्की पुल
खोलापारि न बस्ती छ न बाटो
कैलालीको धनगढी उपमहागनरपालिका भित्रै मान्छेनै नहिड्ने निकास बिनाको बाटोमा पक्की पुल निर्माण भएको छ । जुन पुल दैनिक ओहोरदोहार गर्न प्रयोगमै आउँदैन । जहाँ सडकनै नभएपछि गाडी चल्ने टाढाको कुरा ।
उपमहानगरपालिकाको वडा नम्बर १९ ‘जे’ गाउँको डाँडाचोक नजिक फुलबारी खोलामा बनेको छ यस्तो पुल । चार करोड ७० लाख रुपैयाँको लागतमा बनेको पुल अहिले कहिलेकाँही खेतीबाली हेर्न खेतसम्म जाने किसासहरुको लागि मात्रै प्रयोग भइरहेको छ । अन्यथा त्यो पुलमा कोही हिँड्दैन । 
बर्खाको समयमा खेतसम्म जानका लागि सजिलो भएकोमा स्थानीय किसान भने खुशी छन् । तर खेतसम्म जान स्थानीय किसानलाई सानो खोलामा कल्भर्टनै बनाएको भएमात्रै काफी हुन्थ्यो ।
खोलापारि ठूलो खेतीयोग्य जमिन छ । खेतसम्म जानबाहेक त्यो बाटो अन्य काममा प्रयोग हुँदैन । अहिले खोलामा माछा मार्नेहरुका लागि भने सो पुल ओहोरदोहोर सजिलो बनेको छ । यो हेर्दा यत्तिका लागि मात्रै त्यो सानो खोलामा करोडौं खर्चेर दुई लेनको पक्की पुल निर्माण गरिएको हो कि भन्ने भान हुन्छ । पुलको बाटो हुँदै कुनैपनि गाडी चल्दैन । पुलपारि गोरु गाढा चल्नेसक्ने बाटो पनि छैन । बाटोको निकाससमेत छैन । बाटो नभएपछि गाडी चल्दैन । 
पुलपारि केही भू–भाग धनगढी उपमहागनरपालिकाकै पर्छ भने धेरै भू–भाग कैलाली गाउँपालिकाको क्षेत्र भित्र पर्छ । पारि बस्ती छैन । खेतैखेत छ । केही किलोमिटरको दुरीमा बस्ती छ, तर त्यो बस्तीलाई अहिले पुल बनेको ठाउँभन्दा एक किलोमिटर टाढा डाँडाचोक हुँदै बनेको पक्की सडकले जोड्छ । यसको अर्थ सो पुल हुँदै बस्तीसम्म जानुपर्ने आवश्यकतानै छैन । त्यसका लागि बस्तीसम्म पुग्ने राम्रो बाटो पनि छैन ।
स्थानीयकै अनुसार चार वर्ष अघि सो ठाउँबाट एक किलोमिटर अगाडि बस्ती भएको स्थानमा पुल निर्माण गर्न सर्भेसमेत गरिएको थियो । तर त्यसबेला क्षेत्र नम्बर ५ बाट निर्वाचित तत्कालिन सांसद पुस्करनाथ ओझाले सोही ठाउँमानै पुल निर्माणका लागि दवाव दिएका थिए ।
पारितिर खेतीयोग्य जमिन भएको र त्यसमा कुनै स्वार्थ जोडिएकै कारण नचाहिने ठाउँमा पुल बनाउन दवाव दिएको हुनसक्ने स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । बाढीले खेतीयोग्य जमिन कटान गरिरहेको ठाउँमा तटबन्ध निर्माण गरिनुको सट्टा नचाहिने पुल निर्माण गरिएको भन्दै केही स्थानीयले आक्रोश समेत पोख्दै आएका छन् ।
पुल निर्माणका क्रममा स्थानीले विरोधसमेत जनाएका थिए । तर स्थानीयको आवाजको कुनै सुनुवाई भएन । वडा नम्बर १९ का वडाध्यक्ष तिलुराम चौधरीले स्थानीयको असन्तुष्टिकाबीचनै सो पुल निर्माण भएको बताए । उनले अहिले पुल प्रयोगविहीन अवस्थामा रहेको बताए ।
एक वर्ष अगाडि निर्माण सम्पन्न भएको पुलको लम्बाई २५ मिटर छ । उक्त पुल धनगढीको रोयल उच्चाकोटी राजेन्द्रस्वर जेभीले दुई वर्ष लगाएर निर्माण गरेको हो ।
९ साउन २०७८, शनिवार १०:१३ बजे प्रकाशित































