१२५ वर्षीय पुजारीको निधन, जसले कहिल्यै प्रयोग गरेनन् औषधि
महोत्तरीको महोत्तरी गाउँपालिका-४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको १२५ वर्षको उमेरमा निधन भएको छ ।
पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आएका बाबा वैदेही दासको बिहीबार बिहान ७ बजे निधन भएको हो । भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गरेका उनी शुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आएका थिए ।
स्थानीयवासीका अनुसार योग गर्ने उनले बिरामी हुँदा पनि कहिल्यै औषधि प्रयोग गरेका थिएनन् । पूजारी बाबा वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरुको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने विश्वास गरिन्थ्यो ।
७ साउन २०७८, बिहीवार १४:२८ बजे प्रकाशित













