द्वन्द्वकालमा बेपत्ता भएका दार्चुलाका एक व्यक्ति परिवारको सम्पर्कमा

नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका दार्चुलाका १ जना व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार विसं २०५२ देखि २०६३ सम्म दार्चुलाबाट २० जना बेपत्ता भएको भन्दै उजुरी परेको छ । आयोगका अध्यक्ष युवराज सुवेदीका अनुसार अध्ययन गर्दै जाँदा भेट्ने क्रम जारी छ, अरु पनि भेटिन्छन् भन्ने आयोगलाई विश्वास छ ।

आयोगले उजुरीको अध्ययन गरी छानबिन गर्न जाने क्रममा दार्चुला नौगाड गाउँपालिका–५ का विक्रमसिंह ठगुन्ना, फेला परेका हुन् ।

नेपालमा विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ सम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएको भनेर आयोगमा उजुरी परेको थियो । सोही उजुरीको अध्ययन गर्ने क्रममा दार्चुलका १ जना व्यक्ति फेला पारी हाल परिवारको सम्पर्कमा रहेको बताइएको छ ।

आयोगमा परेका तीन हजार २२३ उजुरीमध्ये २३७ उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको थियो । त्यसमध्ये १३१ उजुरी दोहोरो परेको देखिएकाले लगतकट्टा गरिएको थियो ।

साथै २८९ उजुरीमा सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेका भन्ने नै आधार प्रमाण नदेखिएकाले तामेलीमा राखिएको थियो । आयोगले दुई हजार ४९५ उजुरीमा विस्तृत छानबिन गरिरहेको छ ।

उजुरीका आधारमा दुई हजार ५१३ व्यक्ति बेपत्ता पारिएको भनी आयोगको तथ्याङ्कमा उल्लेख छ । आयोगका अनुसार दुई हजार २७४ उजुरीमा उजुरीकर्ता बुझ्नेलगायतका काम सम्पन्न भएको छ ।

उजुरी परेका ७५ जिल्लामध्ये ७३ जिल्लाको स्थलगत भ्रमण गरी आयोगले अनुसन्धान गरिसकेको छ भने १५ जिल्लाका १८८ परिवारका ५४० जनालाई पीडित परिचयपपत्र वितरणसमेत गरिसकेको छ ।


३१ असार २०७८, बिहीवार १०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु