punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरलाई यो वर्ष भित्रै पूर्ण साक्षर घोषणा गरिने

Chaupati
safha napa

कञ्चनपुर जिल्लालाई २०७८ चैत महिनाभित्र पूर्ण साक्षर घोषणा गरिने भएको छ । पूर्ण साक्षरताका लागि कञ्चनपुर जिल्लाका नौ वटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरूले आइतबार प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखाका प्रतिनिधिहरूसँग आइतबार गरिएको छलफल तथा प्रतिबद्धता कार्यक्रममा फागुन महिना भित्र पालिकाहरूलाई साक्षर घोषणा गरिसक्ने जनाइएको छ । लालझाडी गाउँपालिकालाई भने यही असार २४ गते साक्षर गाउँपालिका घोषणा गरिसकिएको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताए ।

कञ्चनपुर जिल्लाका अरू ८ वटा पालिका अन्तर्गतका शिक्षा शाखाका प्रतिनिधिहरूले तथ्याङ्क सार्वजनिक गर्दै पूर्ण साक्षर पालिका घोषणाका लागि चाहिने सबै सूचक पूरा गरी आआफ्ना स्थानीय तहहरूलाई साक्षर घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । बेलडाँडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकालाई भदौ २३ गते साक्षर घोषणा गर्ने बताइएको छ ।

त्यस्तै बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, कृष्णपुर नगरपालिका, वेदकोट नगरपालिका, भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिकालाई फागुन महिनाभित्र साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाइएको छ । कोभिड १९ को महामारीका कारण अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकिएको स्थानीय तहहरूले जनाएका छन् ।

जिल्ला पूर्ण साक्षरता बनाउन केही सूचक बनाइएको र सो सूचकका आधारमा साक्षर जिल्ला घोषणा गर्न सकिने शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका इकाई प्रमुख भरत बाबु सुवेदीले बताए ।

सूचकमा राष्ट्रभाषा वा मातृभाषाका वर्णका अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, राष्ट्रभाषा वा मातृभाषामा लेखिएको मूल्य सूचि र बिलको पढाइ, आफ्ना परिवारका सदस्यहरूको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न जान्ने, शून्यदेखि नौ सम्मका अङ्कका अक्षर लेखाइ, १ देखि १ सय सम्म सङ्ख्या गणना, लेनदेनको हिसाब राख्ने लगायतका सूचक रहेका छन् ।

२०७६ साल भित्र देशका सबै जिल्ला नै पूर्ण साक्षर घोषणा गरी नेपाललाई नै साक्षर देश घोषणा गर्ने लक्ष्य नेपाल सरकारको रहे पनि कोभिड १९ को महामारीका कारण कार्यक्रम प्रभावित भएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख फैरू तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता रहेको थियो ।


२७ असार २०७८, आइतवार १८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु