Alok

दार्चुलामा पहिरोले एक नाबालिकासहित ३ जनाको मृत्यु, जलविद्युत आयोजना पनि बग्यो

दार्चुलाको नौगाडमा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ ।

अविरल वर्षासँगै गाउँपालिका वडा नम्बर ३ खार नजिकैको चौखुट्टेमा आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले जानकारी दिए ।

यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको डिएपी भट्टले बताए । उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ । पहिरोमा परेर सोही ठाउँका १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएकी छन् ।

यस्तै, खार खोलामा आएको बाढीले सोही ठाउँमा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बगाएको छ । डीएसपी भट्टका अनुसार बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको छ ।

बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको छ।

ठाउँमा पहिरोमा फसेका मानिसको उद्दारका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ । स्थानीयको सहयोगमा प्रहरीले उद्धार कार्य गरिरहेको छ । पहिरो गएको ठाउँमा जिल्ला सदरमुकामबाट झण्डै ८ घण्टाको पैदल दूरीमा पर्छ ।


२४ असार २०७८, बिहीवार १४:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु