महन्थ ठाकुरसहितका जसपा नेता बालुवाटारमा
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरु प्रधानमन्त्रीसँग छलफलमा रहेका छन्।
नयाँ सत्ता गठबन्धनका लागि ठाकुरसहितका नेता प्रधानमन्त्री ओलीसँग छलफलमा जुटेका हुन्।
जसपाको महन्थ पक्षलाई ८ मन्त्रालय दिने गरी सरकारमा सहभागी गराउने तयरीमा प्रधानमन्त्री ओली रहेको बताइन्छ ।
जसपाबाट मन्त्रिमण्डलमा को को जाने भन्नेबारे छलफल चलिरहेको छ। तर मन्त्रीका आकांक्षी धेरै हुँदा निर्णय लिन ढिलाई भइरहेको छ।
सरकारलाई हेर्ने विषयमा दुई धार हुँदा जसपा विभाजनको संघारमा छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई ओली सरकारको विस्थापनाको पक्षमा छन् भने महन्थ पक्षले सरकारलाई सघाइरहेको छ।
जसपाले राखेका नागरिकता अध्यादेश, मधेश आन्दोलनका मुद्दा फिर्ता लगायतका माग सरकारले पुरा गरे पनि अन्य मागबारे पनि प्रधानमन्त्रीसँग छलफल गर्न लागिएको एक नेताले बताए। संविधान संशोधनका लागिसमेत कार्यदल बनाइएको छ।
जसपाको संसदीय दलमा महन्थ पक्षको बहुमत छ भने कार्यकारिणी समितिमा उपेन्द्र पक्षको बहुमत रहेको छ। दुवै अध्यक्षले एकले अर्कोसँग स्पष्टीकरण माग्दै कारबाहीको तयारी गरिरहेका छन्।
१७ जेठ २०७८, सोमवार १२:१० बजे प्रकाशित































