Hotel Flora Long Ad

आफ्नो ब्रेकफास्टको पैसा आफैं तिर्छु : फिनल्यान्डकी प्रधानमन्त्री

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले पदमा छँदा खाइरहेको ब्रेकफास्टको पैसा आफैं तिर्ने बताएकी छन् । 

गत साता इल्तालेहती नामक पत्रिकाले मारिन तथा उनको परिवारका लागि सार्वजनिक रकमबाट ३०० युरो प्रत्येक महिना खर्च हुने गरेको खबर छापेपछि विवाद उठेको थियो । उक्त रकमबाट खाद्यान्न किनेर प्रधानमन्त्री निवास केसारान्तामा मारिन र उनको परिवारले ब्रेकफास्ट खाने गरेको थियो । 

यसरी सित्तैमा ब्रेकफास्ट खाएको भन्दै उनको आलोचना भएपछि उनले अबदेखि ब्रेकफास्टको पैसा तिर्ने अनि प्रधानमन्त्रीले पाउने सुविधाको पूर्ण समीक्षा गर्ने बताएकी छन् । 
शनिवार उनले एउटा ट्वीट गर्दै लेखिन्, ‘प्रधानमन्त्रीलाई उपलब्ध गराइने सेवासुविधाका विषयमा केही दुविधा रहेका छन् । यस विषयलाई पूर्ण अनुसन्धान गरिनु सही छ ।’

प्रहरीले शुक्रवार एक आरम्भिक अनुसन्धान शुरू गरेर प्रधानमन्त्रीको ब्रेकफास्टको खर्च बेहोर्ने विषयमा अधिकारीहरूले कुनै गडबडी गरेका छन् भनी खोजी गरिरहेको छ ।

अनुसन्धानमा अधिकारीहरूको काम हेरिनेछ, मारिन अनुसन्धानको दायरामा छैनन् । 

प्रधानमन्त्री कार्यालयले निवासमा रहँदा ब्रेकफास्ट र चिसो खानेकुराका लागि राज्यको रकम लिने अधिकार प्रधानमन्त्री तथा उनको परिवारलाई रहेको भनी शुरूमा तर्क गरेको थियो । तर मन्त्रीहरूको तलब तथा सुविधाका विषयमा बनेको ऐनको दफा ६ र ७ मा ब्रेकफास्टको पैसा तिर्ने प्रावधान छैन । 

फिनल्यान्ड संसारमै सबभन्दा कम भ्रष्टाचार हुने मुलुकमा पर्छ र ब्रेकफास्टको विषयले जनतामा आक्रोशको स्थिति छ । 

पाँच दलको गठबन्धन सरकारमा सार्वजनिक सम्पत्तिको दुरुपयोगको यो दोस्रो आरोप हो । पहिलेको विवादमा तत्कालीन अर्थमन्त्री कात्री कुलमुनीले पोहोर साल राजीनामा दिएका थिए । 
यो नयाँ विवाद गलत समयमा आएको छ किनकि स्थानीय निर्वाचन आउन दुई हप्ता मात्र बाँकी छ र मारिनको लोकप्रियता क्रमशः घटिरहेको छ । 
 
नेसनल कोलिसन पार्टी र ट्रु फिन्स मिलेर बनेको दक्षिणपन्थी विपक्षी गठबन्धनले मारिनको सोसल डेमोक्रेटिक पार्टीलाई पछि पारेको मतसर्वेक्षणले देखाएका छन् । एजेन्सीकाे सहयाेगमा


१७ जेठ २०७८, सोमवार १२:२२ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु