सत्तापक्ष सरकार बचाउनमै केन्द्रीत भयो- सुदूरपश्चिम काँग्रेस संसदीय दल
सुदूरपश्चिम प्रदेश काँग्रेस संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकार पूर्ण रुपमा असफल भएको बताएको छ । आइतबार बसेको प्रदेश संसदीय दलको बैकठले जनचाहाना अनुसार काम गर्न नसकेर प्रदेश सरकार पूर्ण रुपमा असफल भएको जनाएको हो ।
‘अहिले प्रदेश सरकारले कोरोना महामारीको बाहानामा कामनै गरेको छैन,’ ंससदीय दलका नेता डा. रणबहादुर रावलले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि पनि काम गर्न सकेन । नाकामा होल्डिङ सेन्टर बनाउनेदेखि राहत प्याकेजसम्मका कार्यक्रम ल्याउनुपथ्र्यो, त्यो पनि भएको छैन ।’
जनचाहाना अनुसार काम गर्न नसकिरहेको बेला सत्ताधारी दल सरकार बचाउनका लागि लागिरहेको उनको भनाई छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लाग्नुपर्नेमा सत्ता पक्ष मन्त्री फिताृ गर्ने र बनाउने खेलमा मात्रै केन्द्रीत भएको उनको आरोप छ । सत्ता पक्षलाई सरकार बनाउने अधिकार भएपनि अवस्था हेरेर अघि बढ्नुपर्ने बेला भएको डा. रावललको भनाई छ ।
प्रदेशले सरकारले यो योजना राम्रो ग¥यो भने उदाहरण नभएको उनले बताए । वर्षको अन्तिम अवस्थासम्म आइपुग्दा पनि प्रदेश सरकारले ३३÷३४ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको भन्दै उनले भने, ‘सरकार बजेट कार्यान्वयनमा कमजोर भइसक्यो ।’
सरकारले आसेपासेलाई बजेट वितरण गरिरहेको र अहिले पनि अख्तियारी दिने कार्य भइरहेको उनको आरोप छ । अहिले पनि विभिन्न शीर्षकमा २६ करोड बढी बजेट मनोमानी तरिकाले खर्च भइरहेको भन्ने सुन्नमा आएको भन्दै उनले भने, ‘यसलाई हामी रोक्ने पक्षमा छौं । भोलि ज्ञापनपत्र पनि बुझाउँदै छौं ।’ उनले आगामी आर्थिक वर्षको बजेट पनि सन्तुलित, समयानुकुल, र जनतामुखी बनाउन दवाव दिइने बताए ।
सर्वदलीय समिति बनाउन माग
प्रदेश सरकार मार्फत सञ्चालन भएका योजना अनुगमनका लागि सर्वदलीय समिति बनाउनुपर्ने माग पनि काँग्रेस संसदीय दलले उठाएको छ ।
‘प्रदेश सरकार अन्तर्गत सञ्चालित योजना कार्यान्वयनको अवस्था के भइरहेको छ भन्ने विषयमा कुनै चाँसो नराखिएको र अनियमितता भएको गुनासो आइरहन्छ,’ उनले भने, ‘त्यस्ता योजना अनुगमनका लागि सर्वदलीय समिति बनाउनुपर्छ । निश्पक्ष अनुगमन भएमात्रै योजना निर्माणमा कुनै अनियमिता र भ्रष्टाचार हुन पाउँदैन ।’ प्रदेश सरकारद्वारा सञ्चालित योजनाहरुमा आर्थिक अनियमिता हुने गरेको उनको आरोप छ ।
बजेट चुनावमुखी
सुदूरपश्चिम प्रदेश काँग्रेस संसदीय दलले संघीय सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको बजेट वितरण र चुनावमुखी भएको बताएको छ ।
सरकारले बजेट चुनावलाई केन्द्रीय गर्दै आफ्ना कार्यकर्ता र आसेपासेलाई वितरण गर्ने गरि आएको संसदीय दलका नेता रावलको भनाई छ । संघले चुनावमुखी बजेट ल्याएको अवस्थामा प्रदेशले पनि त्यस्तै बजेट नल्याओस् भने आफूहरु सचेत रहेको उनको भनाई छ ।
‘अब प्रदेशमा पनि विधी र पद्धतिअनुसार कोरोना रोकथामलाई विशेष ध्यान दिँदै अन्य विषय राखेर बजेट ल्याउनुपर्ने अहिलेको आवश्यकता हो,’ उनले भने, ‘यस्ता विषयमा प्रदेश सरकारले ध्यानाकर्षण गराउनेतर्फ हामी अग्रहसर भएका छौं । कुनैपनि हालतमा जनतामुखी लोकप्रिय बजेट ल्याइनुपर्छ ।’
१६ जेठ २०७८, आइतवार १७:५८ बजे प्रकाशित













