Hotel Flora Long Ad

हे आराध्य देव सबैको कल्याण गर !

यति बेला न दाईहरुले
जनता मरेको देखेका छ्न्
न कमरेडहरुले जनता
छटपटाएको देखेका छ्न्
दाईहरु र कमरेडहरु व्यस्त छ्न् अचेल
केवल सिंहदरबारमा कुर्सी ढाल्ने र उठाउने खेलमा

चुनावमा मिठा मिठा घोषणापत्र थिए
दाईहरुका अनि कमरेडहरुका
आज खै कता मिल्काएर कुर्सी तानातानमा छ्न्
हुन त रु ५०० मा किनेका हुन् भोट
मूल्य तिरेका छ्न्
एक/एक बुढी औलाको

ए श्यामे, रामे र बामे
तिमी सास फेर्न नपाएर छ्टपटाई मर्दा केही हुँदैन
तिमीले भोट दिएका कमरेडहरु दाईहरु बाच्नु पर्छ

सुन्तली, मनकली र सीता भाउजुहरु
तिमीले ल्याएको धोती र बर्को हेरेर बाँच्छ्न्
तिमीले दाईहरु र कमरेडहरुबाट पाएको त्यो उपहार
त्यसैलाई हेर्छ्न अनि आँसु पुच्छ्न्
पेटमा पटुकी बाँध्छन्
छोराछोरीलाई पिठ्युमा बोक्छ्न्
अनि फेरि उभिन्छ्न्
भोट हाल्न लाइनमा

अस्पताल बनाउनु भन्दा
उनीहरुले मन्दिर बनाए धर्म जगाए
आफै भ्यु टावर यहाँका पहाडै पिच्छे
भ्यु टावर बनाएर उभ्याए ठिंङ्ग
सिमेन्टका सभ्यताहरु
तिमी फगत एक भोट उपचार नपाएर मर्दैमा
अस्पताल किन बन्छ ?

यहाँ न दाईहरु र कमरेडहरुको
सास रोकिएको छ न छ्ट्पटाएका छ्न्
भेन्टिलेटर र आइसियुका लागि
सास फेर्न अक्सिजनको कमी छैन
न उपचारमा पैसा कमी छ

कमिसनमा मिल्नु पर्छ बात
मिलेन रोकिन्छ भन्सारमै भ्याक्सिन र ओखती
तिमी फगत एक सिलिन्डर अक्सिजनको कुरा गर्छौ
दाई र कमरेडको चित्त बुझे पाउँछौ
सास रोकेर राख आश बचाएर राख
कुर्सी बचाए बने फुर्सद मिल्यो भने
सोध्ने छ्न् तिमीलार्ई
आज कति संक्रमित मरे

दाईहरु र कमरेडहरुका नामका झन्डा
बोकेर तिनलार्ई जिताउनेहरु
अहिले अस्पतालहरुमा बेड र अक्सिजन नपाएर
छटपटाउँदै छ्न्
जीवनको धागो चुडिँदैछ उनीहरुको
तर दाईहरु बेखबर छ्न्
कमरेडहरु कुर्सी तानातानमा छ्न्

जनता मरिरहँदा भुसुना मरे बराबर छ
न दार्इहरुलाई दुख्छ
न कमरेडहरुलाई पोल्छ
यो कठिन समयमा तिम्रो लागि
न दार्ईहरु अगाडि सर्छ्न् न कमरेडहरु
मात्र जय नेपाल र लाल सलाम
सलामत रहनु पर्छ ।

मसान घाटबाट
मुर्दाहरुले फेरि लगाउने छन्
उनीहरुको नाममा
जिन्दावादको नारा
दाई जिन्दावाद !! जिन्दावाद !!
कमरेड जिन्दावाद !! जिन्दावाद !!

जनता त मरेर पनि राजनीतिक मुद्दा बन्छ
कमरेड र दार्ईहरु पालै पालो
सिंहदरबारमा बिराजमान हुन्छ्न्
र धरहराबाट पशुपतितिर फर्केर भन्नेछ्न्
हे आराध्य देव सबैको कल्याण गर !!!


३० वैशाख २०७८, बिहीवार १६:४९ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु