दार्चुलामा जीप दुर्घटना : तीनको मृत्यु, चार जना घाइते
दार्चुलामा शनिबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको गोकुलेश्वर–रिठाचौपाता सडक खण्डअन्तर्गत उचाकोटमा भएको दुर्घटनामा सवारी चालक करन नाथ, पदम पन्त र सुनादेवी पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए ।
उनकाअनुसार दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा जीपमा सवार बुद्धिपल्ल्ब पन्त, गंगा पन्त, मुकेश पन्त र बसन्त पन्त घाइते भएका छन् ।
जीप गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ग १ च १६९३ नम्बरको जीप लेकम गाउँपालिका–६ उचाकोट बन्स्याडीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
२२ फागुन २०७७, शनिवार २०:५४ बजे प्रकाशित













