धनगढी उप–महानगरपालिकाको छैठौं नगरसभा सम्पन्न, तीनवटा विधेयक पारित

धनगढी उप–महानगरपालिकाको छैठौं नगरसभा शुक्रबार धनगढीमा सम्पन्न भएको छ ।
नगरसभाले तीनवटा महत्वपूर्ण विधेयकमाथिको छलफलसंगै पारित गरेको छ ।

सभाले (न्यायीक समिति कार्यविधी) ऐन २०७४ को पहिलो संशोधन २०७७, धनगढी उप–महानगरपालिका स्वास्थ्य सम्वन्धी ऐन २०७७, धनगढी उप–महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धी ऐन २०६६ को विधेयकमाथि नगरसभा सदस्यहरुले छलफल तथा पारित गरेका थिए । यसका साथै विभिन्न ऐजेन्डाहरुमा पनि छलफल भएको थियो ।

नगरसभा बोल्दै नगरप्रमुख तथा नगरसभा अध्यक्ष नृपबहादुर वडले नगरसभाका सबै सदस्यहरु दिनरात जनताको सेवामा खटिएका कारण धनगढी उप–महानगरपालिकालाई देशकै उत्कृष्ठ नगरको रुपमा सम्मानीत भएको बताए । ‘आफुहरु निर्वाचित भएर आएपछि अहिलेसम्म गरेका कामहरुको समिक्षा गर्दै जनतासंग गरेका प्रतिवद्धताहरु बाँकी रहेको समयमा पूरा गर्नुपर्ने छ,’ नगरप्रमुख वडले भने,‘ त्यसैले बाँकी समय हाम्रो लागि महत्वपूर्ण छ ।’

आफुहरु निर्वाचित भएर आएपछि १९ वटा वडा कार्यालयहरु मध्य १६ वटा वडाको आफ्नै कार्यालय भवन निर्माण गरेको, ३ वटा स्वास्थ्य संस्थाबाट १० वटा वडामा नगर स्वास्थ्य केन्द्रहरु स्थापना गरेको, पूर्वाधार विकासले गति लिएको नगरप्रमुख वडले बताए ।

उनले भने, ‘समाजिक क्षेत्रमा पनि उल्लेख्य काम गरेका छौं ।’ धनगढी उप–महानगरपालिकासंग जोडिएका नयाँ वडाहरुमा नमूनाको रुपमा विकास गरिएको भन्दै नगरप्रमुख वडले भने, ‘यस अवधीमा मात्रै २७ वटा विद्यालय भवनहरु, सौचालयहरु निर्माण गरिएको छ । खानेपानी योजनाहरुको विकासको तथ्याङ्कलाई हेर्नेहो भने धनगढी देशमै दोश्रो स्थानमा पर्दछ ।’

त्यसैगरी नगरप्रमुख वडले बेहडाबाबा, जाखोरताल, शिवपुरीधाम लगायतका धार्मिक पर्यटकिय ठाउँको गुरु योजना अनुसार काम भैरहेको नगरप्रमुख वडले बताए । नगरप्रमुख वडले आफुहरु निर्वाचित भएर आएपछि १४ वटा ऐन, ४ वटा नियमावली, ३२ वटा कार्यविधीहरु, ३ वटा निर्देशिका र २ वटा आचारसंहित गरेर ५५ वटा कानुन निर्माण गरेको बताए । नगरप्रमुख वडले कोरोनाको समयमा जनप्रतिनिधीहरुले खेलेको भूमिकाको प्रशंसा गरे ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले नगरसभामा टेबुल भएका विधेयकमाथि विधायन समिति र सरोकारवालाहरुसंग छलफल भएको बताइन् । ‘स्पष्ट हुन नसकेका विषयमा नगरसभा सदस्यहरुले दिएका सुझावहरुलाई समावेश गरेपछि कानुनहरु राजपत्रमा प्रकाशित हुने छन्,’ उप–प्रमुख भट्टले भनिन्, ‘सबै विषयमा गहन छलफल हुन सकेमा मात्रै उत्कृष्ठ कानुन बन्न सक्दछन् ।’ उप–प्रमुख भट्टले नगरसभा सदस्यहरुले दिएका सुझावहरु उप–महामहानगरपालिकाका लागि महत्वपूर्ण रहेको बताइन् ।

धनगढी उप–महानगरपालिका वडा नं १८ का अध्यक्ष मुरारी अधिकारीले लामो रिक्ततापछि आफूहरु स्थानीय तहमा निर्वाचित भएर आएको बताए । ‘जनतासंग अपेक्षा धेरै छन्,’ अध्यक्ष अधिकारीले भने, ‘सबै अपेक्षा यसै कार्यकालमा पुरा हुन सक्दैनन् ।’

नगढी उप–महानगरपालिका वडा नं ७ का अध्यक्ष सिताराम रानाले हावाहुरी र कोरोनाका बिचमा पनि धनगढी उप–महानगरपालिकामा उल्लेख्य काम भएको बताए । धनगढी उप–महानगरपालिका वडा नं ३ का अध्यक्ष बलबहादुर ऐरले चुनावको समयमा जनतासंग गरेका प्रतिवद्धता कति पूरा गर्न सक्यौ भनेर समिक्षा गर्दै अगाडि बढ्नुपर्ने बताए ।


२१ फागुन २०७७, शुक्रवार २०:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु