हातहतियार खरखजना मुद्दामा दोषी सञ्जय राना कैद भुक्तान गरेर छुटे

हातहतियार खरखजना मुद्दामा दोषी ठहर भएका धनगढीका सञ्जय राना कैद सजाय भुक्तान गरेर रिहा भएका छन् ।

ठगी धन्दा चलाएको आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका– ६ मट्यारीका राना १ वर्ष ६ महिनाको कैद सजाय भुक्तान गरेर रिहा भएको जिल्ला कारागार कार्यालय कैलालीले जनाएको छ।

कारागार कार्यालयका जेलर महेन्द्रन खड्काले सञ्जयसँगै पक्राउ परेका धनगढीकै रुद्र अधिकारी पनि मंगलबार अदालतले तोकेको सजाय भुक्तान गरेर छुटेको जानकारी दिए।

कैलाली प्रहरीले डेढ वर्षअघि ठगी धन्दा चलाएको आरोपमा रानासहितका ४ जनालाई पक्राउ गरेर ठगी, सरकारी कागजात किर्ते, हातहतियार खरखजना र संगठीत अपराध गरि ४ मुद्दा चलाएको थियो। जिल्ला अदालत कैलालीका न्यायाधिश खेमराज भट्टको एकल ईजलासले राना र अधिकारीलाई हातहतियार खरखजना बाहेकका अन्य ३ मुद्दामा सफाइ दिएको थियो।

अन्य दुई जना धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का कमलबहादुर बिक र रानाकी साली कल्पना दिवाकोटीलाई भने अदालतले सफाइ दिएको थियो।

प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात बरामद गरेको थियो।


१८ फागुन २०७७, मंगलवार १८:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु