जन्मदिनमा विपन्नलाई वडाध्यक्ष ऐरको सहयोग
आफ्नो जन्मदिनको अवसर पारेर धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बलबहादुर ऐरले विपन्नलाई खाद्यन्न तथा लुगाकपडा सहयोग गरेका छन् ।
उनले सहयोग गर्नेक्रममा सुरुमा धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को रिङरोड छेउमै एक झोपडीमा बस्ने सुशिला सार्कीको परिवारलाई सहयोग गरे। सार्कीको परिवार विगतदेखि नै सोही वडाको रिङ्गरोड छेउमा झुपडी बनाएर बसिरहेको छ ।
श्रीमानको समेत मृत्यु भएपछि तीन छोराछोरीको पालनपोषण समस्या भएको थाहा पाएपछि वडाध्यक्ष ऐरले सार्कीको परिवारलाई सहयोग गरेका हुन् । सार्कीका श्रीमानको केही दिन अघिनै हृदयघातका कारण निधन भएको थियो । उनी अहिले श्रीमान मृत्युको वियोगमा छिन् ।
जन्मदिनकै अवसरमा वडा अध्यक्ष ऐरले धनगढी उप–महानगरपालिका वडा नम्बर ३ कै गौशालामा पनि दाना सहयोग गरेका छन् । साथै दृष्टि फाउण्डेशन मार्फत धनगढी उप–महानगरपालिका १३ की एक विपन्न महिलालाई लुगा कपडाका लागि सहयोग गरेका छन् ।
१६ पुस २०७७, बिहीवार १६:४१ बजे प्रकाशित












