समुदायस्तरमा कोरोना परिक्षणको तयारीमा धनगढी उप -महानगरपालिका
धनगढी, १३ भदौ । समुदायमा कोरोना देखिन थाले पछि धनगढी उपमहानगरपालिकाले भोलि आइतबार देखि समुदायस्तरमा कोरोना परिक्षण गर्ने भएको छ । पछिल्लो समय उपमहानगरपालिका भित्रका समुदायमा कोराना देखिन थालेपछि उपमहानगरपालिकाले कोरोना परिक्षणलाई समुदायस्तरमा लैजाने निर्णय गरेको हो ।
नगरपालिकाले मापदण्ड बनाएर भोलिदेखी समुदायमा कोरोना परीक्षण गर्ने नगर प्रमुख नृपबहादुर वडले बताए । ‘समुदायमा सबैको कोरोना परीक्षण गर्नु आवश्यक छैन, संक्रमितका परिवार र बढी जनसम्पर्कमा रहने ब्यक्तिबाट नमुना छनौट विधीको प्रयोग गरेर छनौटमा परेकाहरुबाट स्वाव संकलन गरिने छ ।’
धनगढीमा भोलीदेखि थप ५ दिन निषेधाज्ञाको समय थप गरी समुदाय स्तरमा कोरोना परीक्षण गरिने नगरप्रमुख वडले बताए । उनले विस्तारै परीक्षणको दायरा बढाउदै लगिने बताए ।
समुदायमा कोरोना संक्रमण फैलिएपछि स्थानीय संक्रमितको संख्या बढ्दै गएको छ । उप–महानगरमा संक्रमण पुष्टि भएका झण्डै २२ प्रतिशत भन्दा बढी संक्रमित स्थानीय रहेका छन् । धनगढीमा स्थानीय संक्रमितको संख्या ५१ पुगेको धनगढी उप–महानगरपालिकाले जनाएको छ ।
१३ भदौ २०७७, शनिवार १२:५८ बजे प्रकाशित













