नेपाल गणित समाज सुदूरपश्चिम प्रदेश समितिद्वारा कार्यशाला सम्पन्न
काठमाडौं, साउन २७ । नेपाल गणित समाज सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा जुमको माध्यमबाट कार्यशाला सम्पन्न भएको छ । नेपाल गणित समाज सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष रघुबीर भट्टको अध्यक्षतामा भएको कार्यशाला ६ दिनसम्म चलेको हो ।
साउन २१ गतेदेखि संचालित उक्त कार्यक्रम २६ गते (सोमबार) समापन हो । कार्यक्रममा त्रिवि केन्द्रीय क्याम्पस गणित शिक्षा विभागका प्राध्यापक कृष्णप्रसाद भट्टले सहजीकरण गरेका थिए । कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि नेपाल गणित समाजका केन्द्रीय सभापति प्रा.डा. चेतराज भट्ट रहेका थिए ।
विशिष्ट अतिथि डा. दिनेश पन्थी रहेका थिए । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय प्राध्यापक संघका सभापति उत्तम थापा, सुदूरपश्चिम विश्वविद्यालय क्याम्पस प्राध्यापक संघका सभापति दीपकचन्द्र भट्टले कार्यशाला उपलब्धी मुलक भएको बताए । सहभागीका तर्फबाट त्रिभुवन विश्वविद्यालय गणित विषय समिति सदस्य डी.बि. थापा, पाठ्यक्रम विकास केन्द्र समिति सदस्य अनुपमा शर्मा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. भट्टले कार्यशालाले सबै क्षेत्रका अनुसन्धानकर्ताहरूलाई सहयोग पुग्ने बताए । विशिष्ट अतिथि पन्थीले कार्यशालाले प्राध्यापकहरुको क्षमता वृद्धि हुने भएकाले यो आवश्यक भएको बताए । कार्यशालाका सहजकर्ता कृष्णप्रसाद भट्टले यस.पी.यस.यस प्रोग्राम साह्रै उपयोगी र सान्दर्भिक रहेको बताए ।
नेपाल गणित समाज सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भट्टले आगामी दिनमा पनि नेपाल गणित समाज प्रदेश समितिले यस्ता उपलब्धिमुलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको बताए । कार्यक्रमको संचालन समितिका सचिव नारायणदत्त भट्टले गरेका थिए । उक्त कार्यशालामा विभिन्न क्याम्पस, कर्मचारी र विधाका गरी ९० भन्दा बढी सहभागी रहेको थिए ।
२७ साउन २०७७, मंगलवार ०९:४९ बजे प्रकाशित













