पत्रकार चौधरीमाथि सामूहिक आक्रमण

धनगढी, साउन २७ । कान्तिपुर दैनिकमा कार्यरत टीकापुरका पत्रकार गणेश चौधरीमाथि आक्रमण भएको छ । जानकी गाउँपालिका वडा नम्बर६ जगतपुरबाट वडा नम्बर–३ स्थित आफ्नो घर जानेक्रममा उनीमाथि एक समूहले आक्रमण गरिएको हो ।

पत्रकार चौधरीले सोमबार राति ८ बजेको समयमा आक्रमण भएको बताएका छन् । सामूहिक आक्रमण भएपछि स्थानीयको घरमा पसेर ज्यान जोगाएको उनले बताए । पत्रकार चौधरीकाअनुसार उनको मुखमा चोट लागेको छ उनीसंगै रहेका भोजराज चौधरीको टाउकोमा चोट लागेको छ ।

आफूले आक्रमणकारी दिनेश शाह, श्री शाह र दिनेश कडायतका विरुद्ध किटानी जाहेरी दिने तयारी गरेको चौधरीले बताए । आफूहरुमाथि आक्रमण हुनुको कारणबारे कुनै जानकारी नभएको उनले बताए । उनले आक्रमणकारीविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको बताए ।

पत्रकार चौधरीमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ कैलालीले आपत्ती जनाएको छ । महासंघका सचिव मिन ठकुरीद्वारा जारी विज्ञप्तिमार्फत आक्रमणमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याएर कारबाही गर्न प्रहरी प्रशासनसंग माग गरिएको छ ।


२७ साउन २०७७, मंगलवार ०८:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु