सिन्धुपाल्चोकको बन्जीमा पनि बाढीले एकै परिवारका चार जना बेपत्ता
सिन्धुपाल्चोक, असार २५ । सिन्धुपाल्चोकको बन्जीमा पनि बाढीले वितण्डा मञ्चाएको छ । भोटेकोशी गाउँपालिकाको नयाँपुल नजिकैको झ्याले भन्ने स्थानको ठाडो खोलामा आएको बाढीले एकै परिवारका चार जना बेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा निमादोर्जे लामा, उनकी बुहारी मन्जु, नातीहरु अन्दाजी वर्ष ६ का सापल र ९ का पासाङ रहेको छन् । नयाँपुल र झ्याले भन्ने स्थानको बीचमा रहेको बुलकोटेखोलको सानोपुल पनि बगाएको छ ।
राजमार्गको बाह्रबिसे तातोपानी खण्डको खागदलदेखि लिपिङसम्मको सडक जताततै बगाएको छ । भोटेकोसी गाप ५ मा पर्ने उक्त स्थान बन्जीजम्प भन्दा करिव आधा किलोमिटर तातोपानीतर्फ रहेको छ । घर बगाएको स्थानबाट भोटेकोसी नदी करिव सय मिटर मात्र तल रहेको छ ।
वडाअध्यक्ष सुब्बा तामाङका अनुसार वेपत्ताको खोजी भइरहेको छ । बगाएर भोटेकोशीमा पुर्याएको भए शव फेला पार्न कठिन हुने उनले बताए । गएराति नै सिन्धुपाल्चोकको जम्बु भन्ने स्थानमा भोटेकोशीको बाढीले १५ घर बगाएको छ भने १८ बेपत्ता भएका छन् । दुई जनाको मृत्युु भएको छ । बेपत्ताहरुको खोजीकार्य जारी छ ।
२५ असार २०७७, बिहीवार ०४:११ बजे प्रकाशित













