सुदूरपश्चिममा कोरोना परीक्षणका लागि आवश्यक किट सकिदा नागरिकमा त्रास
धनगढी,जेठ १२ । सुदूरपश्चिम भारतबाट हजारौँ नागरिक भित्रिएपनि कोरोना परीक्षणका लागि आवश्यक पर्ने किटको मौज्दात सकिएको छ । प्रदेशमा हाल करिब ४ सय किट मात्रै रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ ।
एकातिर भारतबाट हुलका हुल नागरिक नेपाल भित्रिनु र अर्कोतिर किट अभाव हुनुले सुदूरपश्चिम निकै जोखिममा रहेको छ ।सुदूरपश्चिम प्रदेश प्रयोगशालाका अनुसार कोरोनाका सम्भावित बिरामीको थ्रोट स्वाबको नमूना संकलनका लागि चाहिने भीटीएम ७१ वटा र तीन सय १९ वटा ¥यापिड किट मात्रै मौछन् । करिब ४० दिनपछि सुदूरपश्चिममा फेरी देखिएको कोरोनाका बिच फेरी किट अभाव भएपछि परिक्षणको दायरा बढाउन नसकिएको हो ।
भारतबाट दिनहुँ २ हजार भन्दा बढी नागरिक भित्रिरहँदा उनिहरुको सिमामै चेकजाँच समेत हुन सकेको छैन । आइतबार साँझसम्मको तथ्यांक अनुसार प्रदेशभरी ४ हजार ४ सय २१ पिसिआर बिधिबाट र २० हजार ७ सय १७ वटा ¥यापिड टेस्ट गरिएको छ । प्रदेशमा परिक्षणको दायरा नबढ्दा जोखिम कायमै रहेको सर्वसाधारणहरु बताउँछन् ।
धनगढी उप महानगरपालिका वडा नम्बर ८ का नारायण बरालले परिक्षणको दायरा नबढाउँदा जोखिम निकै बढेको बताए । ‘भारतबाट दिनका दिन हजारौँ नागरिक भित्रिरहेका छन् तर यहाँ किट अभाव हुँदै गएको छ’ बरालले भने ‘प्रदेश तथा संघिय सरकारले यस प्रदेशको जोखिमलाई चासो दिनुपर्छ’ ।
दिनहुँ भारतबाट नेपाली भित्रिदै जाने र चेकजाँच नभए महामारी फैलिनसक्ने उनको भनाई छ । हालसम्म १० हजार बढी नेपाली कैलालीको त्रिनगर नाकाबाट नेपाल भित्रिएका छन् । उनिहरुमध्ये ८ सय बराबरको ¥यापिड टेस्ट गरिएको थियो ।
¥यापिड टेस्टमा पोजेटिभ देखिएका २१ जनामध्ये एकै दिन आएका ५ जनको पिसिआर रिपोर्ट पोजेटिभ आइसकेको छ । त्यसपछि भित्रिएका कसैकोपनि परिक्षण हुन सकेको छैन । यस कारण कोरोनाको जोखिम निकै बढेको स्वास्थ्यकर्मी बताउँछन् । परिक्षणको दाष्रा बढाउन नसके भविश्यमा झन खतरा निम्तिने चिकित्सकको भनाई छ ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डक्टर हेमराज पाण्डेले जती सक्दो परिक्षणको दायरा बढाउनुपर्ने बताए । केन्द्र सरकारको आशमा बसेको प्रदेश सरकारलाई आवश्यक किट उपलब्ध नभएको प्रदेश सरकारको गुनासो छ । केन्द्र सरकारबाट आवश्यक्ता अनुसार किट उपलब्ध नभएपछि आफै खरिद प्रक्रियामा लागेको प्रदेश सरकारले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा कोरोना परीक्षणका लागि २० हजार र्यापिड किट र दुई हजार पीसीआर किट गरी २२ हजार किट लगायतका अन्य स्वास्थ्य सामाग्री खरिदको प्रक्रिया अगाडी बढेको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताएका छन् ।
कोरोना शंकास्पद विरामीको थ्रोट स्वाबको नमूना संकलनका लागि चाहिने दुई हजार भिटिएम, स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षार्थ आवश्यक पर्ने पीपीई सेट पाँच सय र एक हजार केएन–९५ मास्क खरिदका लागि जेठ ७ गते बोलपत्र आह्वान गरिएको प्रदेश सरकारले जनाएको छ ।
सिमा नाकाबाट दैनिक हजारौँ नागरिकहरु आइरहँदा जोखिम कायमै छ । तर प्रदेश सरकारले भने उनिहरुको परिक्षण सम्बन्धित स्थानिय तहमै क्वारेन्टाइनमा राखी परिक्षण गर्ने जनाएको छ । सिमामै परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने र कोरोनाको जोखिम कम नहुने हुँदा सम्बन्धित पालिकाको क्वारेन्टाइनमै उनिहरुको स्वाव परिक्षण गरिने प्रदेश सरकारले जनाएको छ ।
भारतबाट आएका सबै ब्यक्तीको कोरोना जाँच गर्ने सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीको भनाई छ ।
प्रदेश सरकारले २० हजार ¥यापिड र २ हजार पिसिआर किट खरिद प्रक्रिया थालेपनि सो किटहरुले भारतबाट आएका सबैको परिक्षण गर्न असम्भव छ ।
प्रदेशमा एक सातामा मात्रै १० हजारभन्दा बढी नेपालीहरु भारतबाट नेपाल फर्किसकेका छन् । भारतबाट आएका सबैको परिक्षण गर्न सके संक्रमण रोकिने सर्बसाधारणको भनाई छ ।
१२ जेठ २०७७, सोमवार १४:२६ बजे प्रकाशित













