अब लकडाउनलाई केही खुकुलो बनाउने सरकारको निर्णय
काठमाण्डौ,चैत २१ । केही दिनअघि मात्र लकडाउनको अवधि थप गरेको सरकारले अब लकडाउनलाई केही खुकुलो बनाउने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको विहीबार बसेको बैठकले लकडाउनलाई खकुलो बनाउँदै खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
त्यस्तै उद्योग भित्रनै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरि सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।
अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले उद्योगभित्र कामदारलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशासनले त्यस किसिमको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिए ।
उनले अब तामाकोशी, मेलम्ची लगायत ठूला आयोजनामा काम गर्ने कामदारलाई उद्योगभित्र नै सुरक्षाको व्यवस्था मिलाई काम गर्न सकिने बताए ।
२१ चैत २०७६, शुक्रवार ०४:१८ बजे प्रकाशित