लकडाउनमा कसरी सुरक्षित रहने ? यस्ता छन् १५ टिप्स

काठमाडौं : सरकारले चैत २५ गतेसम्म लकडाउन (बन्दाबन्दी) लम्ब्याउने निर्णय गरेको छ ।

चैत ११ गतेदेखि बन्दाबन्दी झेलिरहेका आम नागरिकको जीवन अहिले घरको चोटा, कोठामा सीमित हुन पुगेको छ । कतिपयले घरभित्रैबाट दैनिक कामकाज चलाइरहेका छन् । अड्डा, अफिस आदिको काम गरिरहेका छन् ।

कतिपय यो फुर्सदको समय परिवारसँग हाँस खेल गरेर, मीठा पक्वान्न, रेसिपी बनाएर व्यतीत गरिरहेका छन् । दिनभरि कोठाभित्र समेटिनुपर्दा कतिपयको दिनचर्या निकै पट्यारलाग्दो बनिरहेको छ । शारीरिक अभ्यास नहुँदा कोरोना सङ्क्रमणबाट जोगिए पनि अरू स्वास्थ्य समस्या झेल्नुपर्ने अवस्थामा पनि छन्, कतिपय ।

तथापि, कोरोनाबाट बच्न घरबाट बाहिर ननिक्लनु नै उत्तम उपाय हो । त्यसो त विज्ञहरूले तपाईं घरबाहिर ननिक्लनूस्, तपाईंलाई खोज्दै कोरोना घरसम्म आइपुग्दैन भन्दै सजग पनि गराइरहेका छन् ।

तर, जनस्वास्थ्य विज्ञ रवीन्द्र पाण्डे घरभित्रै बस्दा पनि सावधानी अपनाउनुपर्ने बताउँछन् । सर्तक नरहँदा कोरोना विभिन्न माध्यमबाट घरसम्मै आइपुग्ने पाण्डेको निष्कर्ष छ ।
हाम्रा कतिपय आनीबानी र दैनिक व्यवहारले समेत कोरोना सङ्क्रमण भित्र्याउन सक्ने जोखिम रहेको औंल्याएका छन् ।

कोरोना सङ्क्रमणबाट जोखिन पाण्डेले दिएको १५ सुझाव

–पत्रपत्रिका घरभित्र नल्याउने ।

–दूध, दहीको प्याकेटलाई हातले नछोई कागजको ठुंगोमा राख्ने । घरमा ल्याएपछि कागजको झोला डिस्पोज गर्ने ।

–दूधको प्याकेटलाई पञ्जा लगाएको हातले निस्संक्रमण गर्ने । यसको लागि स्प्रिट वा स्यानिटाइजर प्रयोग गर्ने वा साबुनपानीले धुने । अनि अर्को व्यक्तिले कैँचीले टुप्पो काटेर भाँडोमा खन्याउने ।

–सामान किन्न घरबाहिर एकजना जवान व्यक्तिमात्र जाने । गेट ह्यान्डल स्प्रिटले सफा गर्ने । घरबाहिर जुत्ता चप्पल, खुट्टा राम्रोसँग साबुनले धुने । लगाएका कपडा सकभर घाममा राख्ने । ढोका कुहिनाले धकेलेर खोल्ने । चुकुल निस्संक्रमित् तुल्याउने । त्यसपछि नुहाएर अर्को ड्रेस लगाएर कोठा वा भान्सामा जाने ।

–ग्यास सिलिन्डरलाई साबुनपानीले धोएर तथा १ घण्टा घाममा सुकाएर मात्र घरभित्र ल्याउने ।

–घरबाहिर प्रयोग गरेको मोबाइललाई स्यानिटाइजरले सफा गरेर २० मिनेट घाममा सुकाउने ।

–चल्तीको पैसालाई सकभर भान्सा, बैठक तथा बेडरुममा नराख्ने ।

–औंठी, घडी, डोरो, सिक्री, ब्रासलेट, बाला आदि नलगाउने ।

–घरभित्र स्यानिटाइजरको साटो साबुनपानी प्रयोग फर्ने । घरभित्र बस्दा मास्क नलगाउने ।

–सकभर यो ३ हप्ता घरमा उपलब्ध खाना खाने अर्थात पसल गइरहने काम नगर्ने

–योग, व्यायाम, ध्यान, स्वस्थ्य खाना, हाँसखेल, सकारात्मक मन्थन आदिबाट रोगसँग लड्ने क्षमता बढ्छ ।

–सामाजिक संजाल वा अन्य संचार माध्यममा सरकार, जनस्वास्थ्यविद, चिकित्सक, विश्वासिला मिडियाको सल्लाह मात्र विश्वास गरौँ । हल्ला र भ्रमको पछि नलाग्ने ।

–कोरोना भाइरसको शक्ति बुझ्ने । यो तीव्र गतिमा फैलिन्छ तर धेरै घातक छैन भन्ने तथ्य नबिर्सने ।

–अहिले प्रदूषण निकै कम छ । तसर्थ फोक्सोको शक्ति बढाउन अनुलोम र विलोम, भस्त्रिका लगायत प्रणायाम गर्ने । अन्य ब्रिदिंग एक्सरसाइज गर्दा पनि हुन्छ ।

–सामान्य स्वास्थ्य समस्याको लागि अस्पताल नजाने । घरेलु उपचार गर्ने । आफ्नो डाक्टरलाई फोन गरेर सल्लाह लिने । नबिर्सौं, अस्पताल रोग सर्ने प्रमुख ठाउँमध्ये एक हो ।

–यो समयमा घामको जति सक्यो धेरै उपयोग गर्ने । घाममा बस्ने, लगाउने कपडा, बेडरुमका कपडा, भाँडाकुँडा लगायतका सामाग्री घाममा राख्ने । फुर्सदको बेला नचाहिने कुरा केलाएर घरलाई अझै सफा बनाउने ।


१८ चैत २०७६, मंगलवार ००:२० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु