कोईलाको हल्ला पछाडि नलागौ
धनगढी : गएराति एउटा हल्ला डढेलो झै फैलियो । कोरोनाको संक्रमण भन्दा पनि व्यापक रुपमा रातभरी फैलिएको हल्लाबाट सुदूरवपश्चिमका कुनै घर, टोल अछुतो रहेन ।
हरेक घरको आगनमा खाल्डो खनेर हेर्दा त्यहाँ कोईला भेटिने र त्यो कोईलाको टीका लगाउदा कोरोनाको संक्रमण नफैलिने हल्ला यसरी चल्यो कि धेरैले त्यसमा विश्वास पनि गरे । कतिपयले राति नै घरको आगनमा खने र एउटा अर्को अफवाह पनि फैलियो, यसरी खाल्डो खन्दा प्रत्येक घरको आगनमा एउटा कोईला भेटियो ।
कोरोनाको संक्रमणको रोकथामको लागि राति आकाशबाट नेपालमा खसेको उल्काबाट सबैको आगनमा कोईला भेटिएको हल्ला कानकानमा पुग्यो । र त्यसले सामाजिक सञ्जालमा पनि व्यापकता पायो । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कोईलाको हल्ला पछाडि नलाग्न सर्वसाधारणलाई र त्यसमा कुनै सत्यता नभएको बताए ।
बरिष्ठ फिजिसियन प्रा.डा. सुभेषराज कायस्थले कोईलाको हल्लाको पछाडि नलागी कोरोनाको संक्रमणबाट जोगिन र यो फैलिन नदिन घरभित्र बस्नुभन्दा अर्को उपाय र बिकल्प नभएको बताए ।
कोईला भेटिदैमा र त्यसको टीका लगाउदैमा कोरोनाको संक्रमण नफैलिने हुदैन, यदि मान्छेहरुले लक डाउनलाई हल्का ढंगले घरबाहिर निस्किन छोडेनन, र यसलाई सामान्य रुपमा लिए, भोलि भयावह अवस्था आउनेछ, प्रा.डा. कायस्थले भने, अफवाह, अन्धविश्वास र हल्लाका पछाडि नलाग्न र आम सचेत नागरिकले सामाजिक सञ्जालमा यसलाई चिर्न आवश्यक छ ।
१४ चैत २०७६, शुक्रवार ०४:५९ बजे प्रकाशित