सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल आज

धनगढी : खप्तड गोल्डकपको उपाधिका लागि आज थ्रीस्टार र घरेलु टिम सुदुरपश्चिम ११ विच प्रतिस्पर्धा हुनेछ । गतबर्षपछि उपाधि नजिक पुगेर बञ्चित भएको थ्रीस्टारलाई यसपटक घरेलु टिमको चुनौती रहेको छ ।

विक्रम लामाको कप्तानीमा रहेको थ्रीस्टार गत संस्करणमा पुलिससँग एक शुन्यले पराजित भएको थियो । तर यसपटक उसले उपाधि जित्ने लक्ष्यका साथ उत्रने छ ।

यसपटक खप्तड गोल्डकपले नयाँ विजेता पाउने निश्चित छ । किनकी थ्रीस्टारले जितेमापनि पहिलो पटक उपाधि उचाल्नेछ । यस्तै पहिलो पटक नै फाइनलमा पुगेको सुदुरपश्चिम ए डिभिजन क्लवलाई हराएर नयाँ च्याम्पियन बन्ने लक्ष्यमा छ ।

सुदुरपश्चिमले फाइनलमा दर्शकको उल्लेख्य साथ पाउने निश्चित छ । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले फाइनल खेल फाइनल जस्तै हुने बताए ।

‘को जित्छ भन्दापनि दुबै टिमका लागि बराबर संभावना रहेको र जसले राम्रो खेल्यो उसले जित्नेछ,’ प्रशिक्षक केसीले भने । यसका साथै दुबै टिममा युवा खेलाडी रहेकाले जसले मौका राम्रो पायो उसले जित्ने धारणा राखे ।

सुदुरपश्चिमका प्रशिक्षकले थ्रीस्टार राम्रो टिम रहेकाले हामीलाई सोचेभन्दा धेरै चुनौती रहेको बताए ।

जारी प्रतियोगितामा सुदुरपश्चिमले दुई खेलमा ६ गोल गर्दा तीन गोल खाएको छ । सुदुरले सेमिफाइनलमा विभागिय टिम एपीएफलाई दुई एकले हराएको थियो । यता थ्रीस्टारले सेमिफाइनलमा हिमालयन शेर्पालाई एक शुन्यले हराएको थियो ।

थ्रीस्टार यो सिजन दोस्रो पटक फाइनल खेल्दैछ । यसअघि झापाको सताक्षी गोल्डकपको फाइनलमा मच्छिन्द्र क्लवसँग हारेको थियो ।


२० फागुन २०७६, मंगलवार ०१:३७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु