कञ्चनपुर र कैलालीमा फागुन २० र २१ गते आमहड्ताल
धनगढी : थरुहट थारुवान राष्ट्रिय मोर्चाले कञ्चनपुर र कैलालीमा आमहड्तालको घोषणा गरेको छ ।
सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन र आफ्ना माग पुरा गराउन दोस्रो चरणको कार्यक्रम अन्तर्गत कञ्चनपुर र कैलालीमा पनि यही फागुन २० र २१ गते शान्तिपूर्ण सशक्त आमहड्तालको कार्यक्रम घोषणा गरेको हो ।
मोर्चाले विज्ञप्ती निकालेर आमहड्तालको घोषणा गरेको हो । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय संयोजन समितिका महासचिव तुलसी थारुद्वारा हस्ताक्षरित विज्ञप्तीमा आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द रहने जनाइएको छ ।
आमहड्ताल अवज्ञा गरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम् रहने पनि मोर्चाले विज्ञप्तीमा उल्लेख गरेको छ ।
आमहड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने बताइएको छ ।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ गतेदेखि निरन्तर आन्दोलनमा छ ।
आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाल लगायत संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।
२० फागुन २०७६, मंगलवार ०१:४९ बजे प्रकाशित