भण्डारी दम्पती हत्या प्रकरण : अपराधीलाई छिटो पक्राउ गर्न माग

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका भण्डारी दम्पतीको हत्यारा पत्ता लगाई कानुनी कार्वाही गर्न माग गरिएको छ।

नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले तत्काल अपराधीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग गरेका हुन्। नगरपालिका कार्यालयमा आइतबार आयोजित बैठकमा बोल्दै उनले झलारी बजार क्षेत्रकै पूर्व पश्चिम राजमार्ग छेउमै घर भएका जयलाल भण्डारी र धनादेवी भण्डारीको हत्या भएको तीन दिन वितिसक्दा समेत हत्या पत्ता लाग्न नसकेकोमा असन्तुष्टि व्यक्त गरे।

‘अपराधिक घटना घटेको छ’ उनले भने, ‘शुरक्षा व्यवस्थामा चुनौती थपिएको छ। योजनावद्ध रुपमा हत्या भएको छ। गहिरो अनुसन्धान हुनु पर्यो। अपराधी भाग्न सक्ने संभावित क्षेत्रमा नाकाबन्दी गरी पक्राउ गरी कानुनी कठघारामा ल्याउनोस्।’

नगरपालिकाका तर्फबाट के सहयोग चाहिन्छ गर्न तत्पर रहेको उनले बताए। अपराधी पत्ता लगाउनका लागि सबैको सहयोगको खाँचो समेत रहेको उनले बताए।
बैठकमा सहभागी इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले अपराधीनजिक पुग्ने गरी सवुत प्रमाण संकलनको कार्य गरिएको बताए।

‘घटना स्थलमा फेला परेका रगतको नमूना परिक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउने कार्य गर्दैछौं ।मोवाइल, सिम र विगतमा भएका कुराकानीको आधारमा अपराधीसम्म पुग्ने कोशिसमा छौं’ उनले भने। हत्यामा दुई भन्दा बढी व्यक्तिको संलग्नता भएको आसंका गरिएको उल्लेख गर्दै उनले भने, ‘सबै युनिटलाई परिचालन गरी घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको छ।’ मृतको घरका सामान उनका आफन्त जिम्मा लगाइएको उनले बताए।

‘संघीय, प्रदेश र सिआइविको टोली परिचालित भइ घटनाबारे अनुसन्धान गरिरहेको छ’ उनले भने, ‘हामीले पनि अनुसन्धानलाई अगाडि बढाएका छौं।’ शंकास्पद व्यक्तिलाई संघ सोधपूछको कार्य समेत भइरहेको उनको भनाई थियो।

जिल्ला प्रहरी कार्यालय सँग समन्व गरी कार्य अगाडि बढाइएको उनले बताए। फागुन १५ गते दिउसो ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीय धनादेवी भण्डारीको धारिलो हतियारको प्रयोग गरी हत्या भएको अवस्थमा घरभित्रै शव फेला परेको थियो।

मृतक दुवै जनाको शव घरको अलग अलग कोठामा फेला परेको थियो। मृतक दम्पतिका छ महिनाकी छोरीको अवस्था समेत जटिल रहेको छ। उपचारका लागि कैलालीको नीजि अस्पतालमा भर्ना गरिएको छ ।


१८ फागुन २०७६, आइतवार १६:११ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु