मानव अधिकार उल्लंघन र ज्यादतीका घटना बढ्दै : इन्सेक
ललितपुर : अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट ६ हजार ६ सय ४२ जना पीडित भए भए । सन् २०१८ मा यस्ता घटनाबाट ५ हजार १ सय १० जना पीडित भएका थिए ।
इन्सेकले बुधबार ‘मानव अधिकार वर्ष पुस्तक २०२०’ सार्वजनिक गर्दै यस वर्ष मानव अधिकार उल्लंघनका घटनामा ६८ महिला र ८ सय ६२ पुरुष गरी जम्मा ९ सय ३० जना तथा ज्यादतीका घटनामा ५ हजार ५८ जना महिला र ६ सय ५४ जना पुरुष गरी जम्मा ५ हजार ७ सय १२ जना पीडित भएको जानकारी दियो ।
गत वर्षको तुलनामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा यस वर्ष १ हजार ५ सय ३२ जना बढी पीडित भएको पुस्तकमा उल्लेख छ ।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले यस वर्ष प्रहरीको गोली लागी भोजपुरमा दुई जना, सप्तरीमा एक जना, सर्लाहीमा दुई जना, रुपन्देहीमा एक जना र कपिलवस्तुमा एक जना गरी सात जनाको मृत्यु भएको बताए ।
यस्तै यस वर्ष यातनाका घटनामा १३ जना, गिरफ्तारीका घटनामा ७ सय २ जना, जातीय विभेदका घटनामा ६२ जना, अमानवीय व्यवहारका घटनामा ४० जना, भेला तथा सङ्गठित हुने अधिकारमा ९८ जना र धम्कीका घटनामा ३५ जना र कुटपिटका घटनामा २ सय ७९ जना पीडित भए ।
यसैगरी, यसवर्ष विस्थापनका घटनामा आठ जना र बेपत्ता पारिएको घटनामा दुई जना पीडित भए ।
इन्सेकका संस्थापक अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुुक्त एवम् राष्ट्रपतिका पूर्व मानव अधिकार तथा राजनीतिक विज्ञ सुशील प्याकुरेलले पुस्तकको २८ औँ अङ्क विमोचन गरेका थिए ।
पुस्त्क विमोचन गर्दै संस्थापक अध्यक्ष प्याकुरेलले सङ्क्रमणकालीन न्यायका लागि पीडित केन्द्रित भइ उनीहरूको सम्मानित जीवन यापनमा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको ख्याल गरेर अघि बढ्नु पर्ने खाँचो औँल्याए ।
उनले राजतन्त्रको अन्त्य गर्न, दुई किसिमका सेनालाई वार्ताबाट एकै ठाउँमा ल्याउन सक्ने तर सङ्क्रमणकालीन न्यायका अन्य काम निश्कर्षमा पुग्न नसकेको विषययप्रति आत्मसमीक्षा गर्नु पर्ने खाँचो रहेको बताए ।
प्याकुरेलले शान्ति प्रक्रियाका अरु काम गर्न सक्ने तर हिजो घटाइएका घटना र ज्यादतीलाई बिर्सन खोजेको प्रति चिन्ता व्यक्त गर्दै दण्डहिनताको श्रृङ्खला टुंग्याउन ढिला गर्नु नहुने बताए ।
इन्सेकले बुधबार सातै प्रदेशमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशको मानव अधिकारको अवस्थाका बारेमा छलफल गर्नुका साथै प्रदेशबाट उत्कृष्ट भएका जिल्ला प्रतिनिधिलाई पुरस्कार प्रदान गरेको छ ।
प्रदेश १ बाट उदयपुरका भरत खड्का, प्रदेश २ बाट बाराका भोलानाथ पौडेल, बागमति प्रदेशबाट काठमाडौँकी बिमला पौडेल, गण्डकी
प्रदेशबाट नवलपरासी पूर्वका तिर्थराज डुम्रे, प्रदेश ५ बाट गुल्मीका टोपलाल अर्याल, कर्णाली प्रदेशबाट रुकुम पश्चिमकी मनिषा केसी र सुदूरपश्चिम प्रदेशबाट डडेल्धुराका भुपेन्द्र बिष्ट उत्कृष्ट प्रतिनिधि भएका छन् ।
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष मानव अधिकार उल्लंघन र ज्यादतिका घटनालाई समेटेर नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।
८ फागुन २०७६, बिहीवार ०८:१४ बजे प्रकाशित