प्रेमीहरूप्रति समर्पित !

ए संसारका प्रेमीहरू हो
ए प्रेमी बन्दीहरू हो
ए प्रेमका बागीहरू हो
छेको पारेर प्रेम दिवसको
तिमीहरूलाई भव्य शुभकामना !

याद गर प्रेमीहरू हो
तिम्रो प्रेमको यात्रामा
जातका पर्खालहरू होलान/ छन्
तिम्रो मुखबाट
रातो पिरो हुँदै
लजाउँदै डराउँदै
खुस्कनु भन्दा अघि यो शब्द-
‘म तिमीलाई…. प्रेम गर्छु’
जातका मुखियाहरू आउँने छन्
र सोध्ने छन् तिमीहरूको जात
जात फरक पर्यो भने तिमीहरूको
निषेधाज्ञा जारी गर्ने छन्
तिमीले थरि थरिका मुखियासँग लड्नु पर्छ ।

पर्खाल पारि होला कोही
पर्खाल वारि हौला तिमी
तिमी साँच्चै प्रेम गर्न चाहन्छौ भने
त्यो पर्खाल ढाल्ने आँट गर्नै पर्छ
के तिमी पर्खाल ढाल्न तयार छौ ?

तिमी हिड्ने प्रेमको बाटाभरि
तरवार बोकेर बसेको छ – धर्म
प्रेम धर्मका विरुध्द विद्रोह हो !

प्रेमीको तातो ओठ
तिम्रा ओठले चुम्नु अघि
प्रेमीको छात्तीमा कान राखेर
मुटुको सरगम सुन्नु अघि
धर्मले आदेश गर्ने छ
एउटै धर्मको भएको प्रमाण पेश गर्न
तिमीसँग प्रमाण छैन भने
पहिलो चुम्वन अघि नै
तिम्रो शिरमा तरवार बज्रन सक्छ
तिमीले धर्मका विरुध्द प्रेमको युध्द गर्नु पर्छ
के तिमी त्यो युध्दका लागि तयार छौ ?

तिम्रो प्रेमको संसारमा
पहाड बनेर उभिएको छ सम्पत्ति
धनीहरू कहिलै मायाँ गर्दैनन् गरीवलाई
गरीवहरू पनि मायाँ गर्दैनन् धनीलाई
कारण बिचमा छ सम्पत्ति
जसले हेप्न सिकाउँछ
जसले हेपिन वाध्य पार्छ
हेप्ने र हेपिने बीच
कहिलै प्रेम बस्दैन
तिमी हौ भने प्रेमको तपश्वी
प्रेमको बाधक बनेर उभिएको
के सम्पत्तिको रवाफलाई थुक्न सक्छौ ?

जव प्रेमको कुरा आउँछ
छालाको रङ्ग आउँछ
नाकको लम्वाई आउँछ
आँखाको आयतन आउँछ
जातको जडौरी आउँछ
धर्मको धराप आउँछ
सम्पत्तिको स्वार्थ आउँछ
कुल घरानाका कुरा आउँछन्
जसले मान्छेलाई प्रेम गर्न दिदैनन्
मान्छेको सुन्दर मनलाई प्रेम गर्न दिदैनन्
तिमी साँच्चै प्रेमी बन्ने हो भने
घर छोड्न तयार हुनु पर्छ
समाज छोड्न, देश छोड्न
संसार छोड्न तयार हुनु पर्छ
के तिमीसँग त्यो हिम्मत छ ?

प्रेम आगो हो
प्रेम युध्द हो
के तिमीलाई आगो मन पर्छ ?
के तिमीलाई युध्द मन पर्छ ?

प्रेमको संसार साँच्चै युध्दको मैदान हो
ए संसारका प्रेमीहरू हो
युध्द मैदानका योध्दा बन्न
प्रेम दिवसको भव्य शुभकामना छ !
बलराम तिमिल्सिना
भक्तपुर


२ फागुन २०७६, शुक्रवार ११:०६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु