शिक्षक र कर्मचारी महिलाले ९८ दिनसम्म सट्टामा मान्छे राख्न पाउने
खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रसूति सट्टा शिक्षक व्यवस्थापन कार्यविधि स्वीकृत गरेसंगै वाह वाह कमाइरहेको छ ।
यही बुधबार बसेको नगर कार्यपालिकाको बैठकले सुत्केरी भएका शिक्षक र कर्मचारी महिलाले ९८ दिनसम्म सट्टा शिक्षक तथा कर्मचारी राख्न पाउने व्यवस्थासहितको कार्यविधि स्वीकृत गरेको हो ।
यसअघि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक महिलालाई मात्र ९८ दिनसम्म सट्टा शिक्षक राखेर सुत्केरी बिदामा बस्न पाउने कार्यविधि ल्याएको थियो । नगरपालिकाले पहिलो संशोधन गरेर विद्यालयमा कार्यरत कार्यालय सहयोगी र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालेसमेत सुत्केरी भएका बेला सट्टा शिक्षक राख्ने व्यवस्था गरेको हो ।
९८ दिनसम्म सुत्केरी बिदामा बस्दा विद्यालयको पठन–पाठन अवरुद्ध हुने स्थिति आउने भएकाले सट्टा शिक्षक राख्न सकिने व्यवस्था शिक्षा नियमावलीमा समावेश गरिएको मेयर दीपनारायण रिजालले बताए । सुत्केरी बिदामा बसेका शिक्षक र कर्मचारी महिलाको सट्टामा काम गर्ने सट्टा शिक्षकलाई नगरपालिकाले विशेष कोषबाट तलब व्यवस्था गरेको जनाएको छ ।
२ फागुन २०७६, शुक्रवार १०:२९ बजे प्रकाशित