हरिद्वार तथा देहरादुनसम्म बससेवा

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरदेखि भारतको हरिद्वार तथा देहरादुनसम्म सीधा बससेवा सञ्चालन भएको छ । पवनदूत बस व्यवसायी कम्पनी प्रालिले दुवै स्थानका लागि नेपाल भारतमैत्री बससेवा सञ्चालनमा ल्याएको हो ।
२०७२ सालदेखी महेन्द्रनगर– दिल्ली रुटमा बस सेवा सञ्चालन गरिरहेको प्रालिले देहरादुनसम्मको नयाँ गन्तव्यमा पनि सेवा शुरु गरेको हो । प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले बससेवाको शुभारम्भ गरे । भीमदत्तनगरदेखि देहरादुनसम्म करिब ३ सय ५० किलोमिटर दूरी छ । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले दुई देशबीच सीधा बस सेवा सञ्चालनले नेपाल आउने पर्यटकलाई समेत फाइदा पुग्ने बताए । शिक्षा, स्वास्थ्य सेवा तथा रोजगारीका लागि भारत जाने नेपालीका लागि सीमान्त शहरबाट सोझै बस सेवा सञ्चालन हुँदा सुरक्षित वातावरण उपलब्ध भएको समेत उनले बताए । दुई देशबीचको सीधा यातायत सम्पर्कले आर्थीक गतिविधिमा समेत टेवा पुग्ने उनले बताए ।
पवनदुत यातायात व्यवसायि समितिको अध्यक्ष धर्म बहादुर महराले महेन्द्रनगर देखी भारतको राजधानी दिल्ली सम्म सेवा सञ्चालन गरेको दुई वर्ष पछि नयाँ गन्तव्यमा सेवा विस्तार गरेको जानकारी दिए । आगामी दिनमा पवनदुत यातायातले अन्य भारतीय शहरमा समेत सेवा विस्तार गर्ने उनले बताए ।
प्रत्येक दिन साँझ ६ बजे वातानुकूलित बस महेन्द्रनगरबाट छुट्ने प्रालिले जनाएको छ । बससेवाले पर्यटन भ्रमण वर्षलाई समेत सहयोग पुग्ने विश्वास प्रालिले लिएको छ ।
२३ माघ २०७६, बिहीवार १२:२१ बजे प्रकाशित