सेती प्रादेशिक अस्पताल राजनीतिको चुङ्गलमा
धनगढी,११ माघ।
सेती प्रादेशिक अस्पतालको भवन निर्माणका लागि नर्सिङ कलेजहरुबाट २५/२५ लाख रकम लिएर सहमती कार्यान्वयन नभएपछि पटक/पटक भएका सम्झैताको आर्थिक हिसाबको खोजी सुरु हुन थालेको छ । २०६५/६६ बाट सेती प्रादेशिक अस्पतालमा प्रयोगात्मक गराइरहेको नर्सिङ कलेजहरुबाट २०७१ सालमा एकमुस्ट २५/२५ लाख रकम मागेर कार्यक्रम रहुन्जेल प्रयोगात्मक गर्न दिइने सहमतीले हाल बिबाद निम्त्याएको छ ।
अस्पताल विकास समिति अध्यक्ष गोबिन्द तिमिल्सेना र गणेशबहादूर सिहं मेडिकल सुपरिटेण्डेन्ट भएका बेला धनगढीका दुई नर्सिङ कलेज र एक हेल्थ कलेज गरी तिनवटा कलेजहरुबाट एकमुस्ट रकम लिएको पाइएको छ । शैलेश्वरी फारवेस्ट र फारवेस्ट टेक्निकल कजेजबाट २५/२५ लाख र भागेश्वर एकेडेमीबाट १० लाख रकम लिएर कार्यक्रम रहुन्जेल प्रयोगात्मक गर्न दिइने सम्झौता भएको पाइएको छ ।
सो भन्दा अगाडि प्रति विद्यार्थी मासिक १२ सय ५० का दरले तिरिरहेका कलेजहरुसंग २०७१ सालमा सो सहमती गरियो । सो रकम लगेर आइसीयु कक्ष निर्माण गरेको कलेज सञ्चालक बताउँछन् । त्यसपछि अस्पतालले सो सहमती कार्यान्वयन नहुँदै फेरी प्रयोगात्मक शुल्क मासिक २५ सय तोकेको फारवेस्ट टेक्निकल कलेजका सञ्चालक करुणाकर पाण्डेयले बताए । फेरी २०७३ सालमा १० विद्यार्थी बराबर १ बिद्यार्थीको बार्सिक शुल्क तिरेर मात्रै प्रयोगात्मक गर्न पाउने निर्णय भएको छ ।
तत्कालिन अस्पताल बिकास समितिकी अध्यक्ष रिता भण्डारी बम तथा मेडिकल सुपरिटेण्डेन्ट असोक कुमार श्रृपाइलीका पालामा पुरानो बक्यौता रकम बुझाएर नयाँ तोकिएको रकममा सम्झौता गरेर मात्र प्रयोगात्मक गर्न पाइने निर्णय भएको पाइएको छ । सो बेलाको निर्णय अध्यक्ष तथा मेडिकल सुपरिटेण्डेन्टनै कार्यान्वयन गर्न असफल भए । फेरी पुरानै निर्णय अनुसार मासिक २५/२५ सयका दरले लिन थालियो ।
पुरानो निर्णय कार्यान्वयन नभइरहेका बेला अन्य ठाउँमा समेत नभएको निर्णय गरी १० बिद्यार्थी बराबर १ बिद्यार्थीको बार्षिक शुल्क तिर्नुपर्ने निर्णय सच्याउन अध्यक्ष र मेडिकल सुपरिटेण्डेन्टसंग मौखिक सम्झौता भएको कारवेस्ट टेक्निकल कलेजका सञ्चालक पाण्डेयले बताए । सो बेलाका अध्यक्ष र मेडिकल सुपरिटेण्डेन्टले निर्णय कार्यान्वयनमा जोड नदिएकै कारण २०७३ सालको निर्णय अनुसार रकम आउन नसकेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डक्टर हेमराज पाण्डेयले बताए । सो बेला अस्पताल बिकास समिति हुँदा समेत कार्यान्वयन नभइरहेका बेला आफुले बिकास समिति बिहिन भएदेखी नेतृत्व सम्हालेका कारण पुरानो निर्णय कार्यान्वयनमा जान नसकेको उनले बताए ।
हालको अस्पताल बिकास समितिले सो निर्णय अनुसारको रकम खोजेको छ । तत्कालिन अस्पताल बिकास समितिले गरेको निर्णय अनुसार रकम नआएको भेटिएपछि सो रकम आए नआएको खोजी शुरु भएको अस्पताल बिकास समितिका अध्यक्ष दुर्गा प्रसाद जोशीले बताए । अस्पतालमा बिगत देखी भएका आर्थिक हिसाब किताबको खोजी थालिएको उनले बताए । सो निर्णय अनुसार रकम नआएकाले रकम उपलब्ध नहुँदासम्म प्रयोगात्मक गर्न समेत बन्द गरेको उनले बताए ।
तत्कालिन अस्पताल बिकास समिति अध्यक्ष गोबिन्द तिमिल्सेना तथा मेडिकल सुपरिटेण्डेन्ट गणेस बहादूर सिहं सहित समितिले गरेको निर्णयको रकम खोजी गर्न सर्बसाधारणले माग गरेका छन् । साथै २०७३ सालमा अस्पताल बिकास समिति अध्यक्ष रिता भण्डारी बम र मेडिकल सुपरिटेण्डेन्ट असोक श्रृपाइली सहित समितिले गरेको निर्णय कार्यान्वयन नभई मौखिक सहमतीमा किन टुङ्गियो यो बिषयको समेत खोजी गर्न सर्वसाधारणको माग छ ।
११ माघ २०७६, शनिवार ०६:२४ बजे प्रकाशित