गर्भपतनपछि १२ वर्षे बालिकाले भनिन्, ‘नाइँ, मु बस्तैन याँ’
काठमाडौं, २४ कात्तिक । पत्रकारः भाउ, निकी छै क्या ? (बहिनी, सञ्चै छौं ?)
उनीः मुसुक्क हाँस्छिन् मात्रै । टाउको हल्लाउँछिन् र सन्चै छु को भान दिलाउँछिन् ।
पत्रकारः जेठा बुबा काँ ग्या ? (ठूलो बुबा कहाँ जानु भो ?)
उनीः काँ पो गया । (कता पो जानु भो)
पत्रकारः भात खाइहेली ? (भात खाइसक्यौ ?)
उनीः औं । (अँ)……
काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको चौथो तल्ला । तीन दिन अघि ५ महिनाको गर्भपतन गरेपछि अस्पतालबाट डिस्चार्ज हुने अवस्थाकी अछामकी १२ वर्षीया बालिकासँग आज बिहान ११ बजे पत्रकार इन्द्रसरा खड्काले अछामी भाषामा गर्दै गरेको कुराकानीको अंश हो यो ।
बौद्धिक अपांगताकी उनलाई गर्भपतनको कुनै पीडा बोध नै छैन । न त छ उनलाई शिशु गुमाउँदाको दुःख । आफ्नै शरीरको दुखाइसमेत राम्ररी महसुस नहुनेलाई मानसिक पीडाबारे त झन् के मतलब हुनु र रु त्यसैले त उनी जसलाई देख्छिन्, एकोहोरो हेरिरहन्छिन् र फिस्स हाँस्छिन् मात्रै । उनी अस्पतालको बेडमा छिन् र मात्रै हो, नत्र भने उनको मुहारको हाँसोले उनलाई केही दुःख छ भन्ने कुरा कल्पनै गर्न सकिन्न । उनलाई कुनै सुर्ता नै छैन जस्तो ।
कार्तिकको पहिलो साताको कुरा हो, बालिकालाई कुकुरले टोक्छ । उपचारका लागि अस्पताल लगिन्छ । अस्पतालको रिपोर्ट सुनेर उनको परिवारको होसहवास उड्छ । किनकी अस्पतालले बालिकाको पेटमा ५ महिनाको गर्भ रहेको जानकारी दिन्छ । घटना बारे प्रहरीलाई खबर गरेपछि प्रहरी पेट बोकाउने व्यक्तिको पहिचान गर्न जुट्छ ।
धेरै राम्ररी बोल्न पनि नसक्ने । आफूलाई कसले के गरेको छ भन्न पनि नसक्ने अवस्थाकी उनलाई आफूलाई यस्तो अवस्थामा कस्ले पुर्यायो रु केही थाहा छैन । उनी केही बोल्दिनन् । यसो भएपछि बाआमा मात्रै होइन, सिंगो गाउँ नै चिन्तित हुन्छ । र प्रहरीको सहयोगमा गर्भपतनका लागि गत हप्ता एक प्रहरी महिलासहित काठमाडौंस्थित थापाथली अस्पताल ल्याइन्छ ।
प्रसूति गृहका निर्देशक डा। जागेश्वर गौतमका अनुसार दुई दिन अघि ९शुक्रबार० बालिकालाई ब्यथा लगाएर गर्भपतन गराइएको छ ।
लिंग पहिचान गरेर, गर्भवती महिलाको सहमतिबिना र १२ हप्ताभन्दा बढीको गर्भपतन गराउन कानूनले बन्देज लगाएको छ । यद्यपि जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको २२ हप्तासम्मको गर्भ भने गर्भपतन गराउँन मिल्छ ।
पत्रकार इन्द्रसराले उनीसँग फेरि सोधिनः भाउ, आज लादो दुख्याको छ कि नाइँ ? (बहिनी, आज पेट दुखेको छ कि छैन ?)
उनीः नाइँ
पत्रकारः घर बाइजान्या होइ कि, याँइ बस्न्या है ? (घर गैहाल्छौं कि यतै बस्ने हो ?)
उनीः नाइँ, मु बस्तैन याँ । बाइजान्या हुँ । याँ निको नाइ । (काठमाडौं बस्दिन म । घर गैहाल्छु । यता राम्रो छैन ।)
उनलाई काठमाडौं मन परेन रे । यहाँ भन्दा त अछाम, आफ्नै गाउँ राम्रो भन्छिन्, उनी । त्यसैले यहाँ बस्न मन छैन उनलाई ।
छोटो, कालो कपाललाई दुईतिर रबरले बाँधिएको छ । मेक्सीमाथि पटुका बाँधिएको छ । उनका हात घरी पटुकातिर जान्छन्, घरी बेडमै रहेको गुलाबी रंगको सानो गुडिया (बार्बी डल) तिर । उनी त्यही गुडियालाई समातेर कतिबेला आफ्नो गालामा टाँस्छिन् अनि फेरि बेडमै राख्छिन् ।
अथाह पीडाको भारीले थिचिरहँदासमेत कुनै मतलब छैन उनलाई । त्यसैले त उनको त्यो निर्दोष अनुहारमा झल्किरहेने हाँसो देखेर अस्पतालको त्यही वार्डमा रहेका अन्य बिरामी पनि उनलाई हेरिरहन्छन् । र भन्छन्, ‘कस्ती मायालाग्दी । को पापी होला यस्तो हालत बनाउने ?
महिला खबरबाट
२४ कात्तिक २०७६, आइतवार १२:३५ बजे प्रकाशित