खोप आएपनि कोरोनाबाट २० लाख मानिसको ज्यान जान सक्ने, डब्लुएचओले दियो यस्तो चेतावनी
कोरोनाभाइरसविरुद्ध खोप आएपनि २० लाख मानिसले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ।
खोप प्रभावकारी रूपमा प्रयोगमा आउँदासम्म विश्वभरि २० लाख मानिसले ज्यान गुमाउनसक्ने डब्ल्यूएचओका आपत्कालीन मामिलाका प्रमुख डा। माइक रायनले बताए । उनले अन्तर्राष्ट्रिय सहकार्य नभएमा मृतकको सङ्ख्या अझ बढी हुनसक्ने चेतावनी दिए।
गत वर्षको अन्त्यमा चीनमा कोभिड-१९ देखा परेयता यस रोगबाट अहिलेसम्म ज्यान गुमाउने मानिसहरूको सङ्ख्या १० लाख पुग्न लागेको छ।
सङ्क्रमितहरू बढ्ने क्रम जारी रहँदा अहिलेसम्म विश्वभरि तीन करोड २० लाखभन्दा बढी मानिसमा यो भाइरसले सङ्क्रमण गरेको पुष्टि भएको छ।
हिउँद आउन लाग्दा उत्तरी गोलार्धका थुप्रै देशमा सङ्क्रमणको दोस्रो लहर सुरु हुन लागेको देखिन्छ।
किन चेतावनी ?
माइक रायनका अनुसार अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनुअगाडि नै थप १० लाख मानिसको मृत्यु हुने उच्च सम्भावना छ।
उनले यस रोगको उपचार पद्धतिमा सुधार आइरहँदा मृत्युदर भने घटिरहेको बताए। तर उनले भने, ‘सुधार गरिएको उपचार पद्धति र प्रभावकारी खोप मात्रै पनि २० लाखको सीमा रोक्न पर्याप्त नहुन सक्छन्।’
माइक रायनले सरकारहरूलाई कोभिड-१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अवलम्बन गर्न आग्रह गरेका छन् । उनले सरकारहरूलाई कोभिड-१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अवलम्बन गर्न आग्रह गरेका छन्।
‘जबसम्म हामी सबथोक गर्दैनौँ तपाईँले भनिराखेको सङ्ख्या काल्पनिक मात्र हुनेछैन। बरु दुर्भाग्यवश त्यो निकै सम्भावित हुनेछ।’ बीबीसी
१० असोज २०७७, शनिवार १०:५२ बजे प्रकाशित













